गोरखाको भीमसेन थापा गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने

काठमाडौं–गोरखाको भीमसेन थापा गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार गाउँपालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्थाबारे थाहा पाउन र समयमै समस्या पत्ता लगाई आमा तथा शिशुको अवस्था सबल राख्ने उद्देश्यले भिडियो एक्स–रे सञ्चालन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जनाएका छन्।
निःशुल्क भिडियो एक्स–रे सेवा मासिक रुपमा ८ वटै वडामा रहेका स्वास्थ्य सस्ंथाहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममार्फत् तालिमप्राप्त दक्ष जनशक्तिबाट सञ्चालन गरिने उनले जनाए।
हरेक महिनाको ७ गते गाउँपालिकाका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमार्फत् एक्स–रे सेवा सञ्चालन गरिने जनाइएको छ। स्वास्थ्य शाखाले त्यसका लागि सम्पर्क व्यक्ति पनि तोकेको छ।