क्यान्सर लागेकाे थाहा हुँदाहुँदै पनि सकेका थिए सञ्जय दत्तले फिल्मको सुटिङ, निर्देशकले भने–उनी सुपरम्यान हुन्

हेल्थपोस्ट नेपाल

काठमाडौं–२ वर्षअघि फोक्सोको क्यान्सरबाट पीडित भएका बलिउड अभिनेता सञ्जय दत्त यतिखेर क्यान्सरमुक्त भइसकेका छन्। उनलाई आफू क्यान्सरपीडित भएको थाहा भएको फिल्म ‘शमशेरा’ को सुटिङकै क्रममा हो। तर उनले त्यसलाई पर्वाह नगरी र कसैलाई थाहै नदिई सुटिङ सके। यतिखेर शमशेराको ट्रेलर सार्वजनिक भएको छ, जसमा उनले निर्वाह गरेको भिलेनको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ।

फिल्मका निर्देशक करण मल्होत्ताले सञ्जयको यो ‘डेडिकेसन’ को प्रशंसा गर्दै उनलाई ‘सुपरम्यान’ भनेका छन्। उनले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘सञ्जय सर क्यान्सरपीडित भएको खबर हामी सबैका लागि ठूलो शक थियो। उनी केही नभएजसरी काम गरिरहेका थिए। उनी सेटमा सबैका लागि प्रेरणा थिए।’

मल्होत्राका अनुसार सेटमा सञ्जयले ‘मूड लाइट’ राख्थे। सञ्जय दत्त हाल क्यान्सरमुक्त भइसकेका छन्। निर्देशक मल्होत्रा भन्छन्, ‘सञ्जयले आफ्नो मुस्कानले क्यान्सरको युद्ध जितेका छन्। उनीसँग कसैको प्रतिस्पर्धा हुनसक्दैन। शमशेरामा उनको सहयोगका लागि म उनीप्रति ऋणि छु। उनी मेरा मेन्टर हुन्।’

सन् २०२० मा सञ्जय दत्त क्यान्सरपीडित भएका थिए। उनको फोक्सोको क्यान्सर चौथो चरणमा पुगिसकेको थियो। तर उनी यतिखेर उनी त्यसबाट मुक्त भएर काममा फर्किसकेका छन्।

फिल्म शमशेरामा सञ्जयका अलावा रणवीर कपूर र वाणी कपुर छन्। यसमा रणवीर दोहोरो भूमिकामा छन्। यो फिल्म २२ जुलाईबाट थियटरमा रिलिज हुँदैछ।



Leave a Reply

Your email address will not be published.