लाेकसेवाले गर्‍याे कन्सल्टेन्ट नियाेनेटोलोजिस्टको सिफारिस रद्द, भन्याे-तोकिएको शैक्षिक योग्यताको आवश्यकता पूरा भएन

हेल्थपोस्ट नेपाल

काठमाडौं–लोकसेवा आयोगले नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा गत जेठ १२ गते गरेकाे सिफारिस रद्द गरेकाे छ। उक्त पदमा सिफारिस भएका डा प्रकाश थापाको आयोगले तोकेअनुसारको न्युनतम शैक्षिक योग्यता नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न र सिफारिस रद्द गर्न माग गर्दै आयोगमा निवेदन परेकाेमा  आयाेगले असार १५ काे निर्णयअनुसार सिफारिस रद्द गरेकाे हाे।

आयोगको निर्णयमा भनिएको छ, ‘नेपाल स्वास्थ्य सेवा पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह, नवौं तहको कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा सिफारिस भएका उम्मेदवारले पेश गरेको एमडी पेडियाट्रिक्स योग्यतालाई तोकिएको न्युनतम योग्यताको रुपमा मान्न सकिने नसकिने सम्बन्धमा छलफल हुँदा पेडियाट्रिक्स मेडिसिन र नियोनेटोलोजी फरक उपसमूहमा कायम रहेको र नियोनेटोलोजी उपसमूहका लागि नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त भन्ने शैक्षिक योग्यता तोकिएको देखिएकोमा सिफारिस भएका उम्मेदवारले पेश गरेको पेडियाट्रिक्समा स्नातकोत्तर उपाधिको योग्यताले उल्लेखित नियोनेटोलोजी उपसमूहका लागि तोकिएको शैक्षिक योग्यताको आवश्यकतालई पूरा गरेको नदेखिएको भन्ने शैक्षिक योग्यता सुझाव समितिको मिति असार १५ को निर्णयका आधारमा लोकसेवा आयोग ऐन, २०६६ को दफा १४ को उपदफा ३ बमोजिम निजको दरखास्त फाराम, लिखित परीक्षा तथा अन्तर्वार्ता र मिति जेठ १८ मा गरेको सिफारिससमेत रद्द गरी सोको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने।

आयोगले विज्ञापन नम्बर १७२४८/०७८–७९ नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि आवेदन आव्हान गरेको थियो।
उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने आयोगले उल्लेख गरेको थियो।

तर, उक्त पदमा सिफारिस भएका डा प्रकाश थापाको आयोगले तोकेअनुसारको न्युनतम शैक्षिक योग्यता नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न र सिफारिस रद्द गर्न माग गर्दै आयोगमा निवेदन परेको थियाे।

नियोनेटोलोजीमा डीएम गर्दै गरेका विद्यार्थीहरुको समूहले डा थापाको पेडियाट्रिक्स विषयमा एमडी डिग्री भए पनि तोकिएअनुसार नियोनेटोलोजीमा फेलोसिप वा डीएम नियोनेटोलोजी डिग्री नभएको र नियोनेटोलोजीमा मेडिकल काउन्सिलमा दर्ता नभएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए।

तर आयोगले एम्स दिल्लीबाट नियानेटोलोजी विषयमै ५ वर्षे डीएम पढेर आएका डा धिरेन्द्रप्रसाद यादवको भने आवेदन भने अस्वीकार गरेको थियो।

कन्सल्टेन्ट नियाेनेटोलोजिस्टको सिफारिस रद्द गर्न माग गर्दै लोकसेवामा निवेदन, आयोगले तोकेकै योग्यता नपुग्ने दाबी

 



Leave a Reply

Your email address will not be published.