महालेखाको प्रतिवेदनमा प्रसूति गृह : सिजरिन सेक्सन गराउनेको संख्या बढ्यो, छैन एमआरआई मेसिन, आइभीएफ सेवासमेत बन्द

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कूल प्रसूति सेवाको तुलनामा सिजरिन सेक्सनअनुसार प्रसूति गराउनेको संंख्या बढेको छ।

महालेखाको परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार कूल प्रसूति सेवाको तुलनामा सिजरिन सेक्सनअनुसार प्रसूति गराउनेको अनुपात अघिल्लो वर्षभन्दा १.५५ प्रतिशत र २०७५/७६ को तुलनामा ३.७९ प्रतिशतले बढेको पाइएको हो।

विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको दर १५ प्रतिशतभन्दा यो वर्ष २१.८३ प्रतिशत बढी शल्यक्रियाबाट प्रसूति भएको देखिएको छ।

यस्तै विगत वर्षभन्दा यो वर्ष सामान्य रुपमा प्रसूति हुनेको दर घटेको र अमान्य प्रसूति हुने दर बढेको पनि उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार प्रसूतिगृह थापाथलीमा आव २०७५/७६ मा जम्मा प्रसूति २२ हजार १ सय ४७ भएकोमा सामान्य प्रसूति १२ हजार ४४५ र असामान्य प्रसूति ९ हजार ७०२ थियो। उक्त वर्ष लोअर सेक्सन सिजरिन सेक्सन ७ हजार ३१८ भएको थियो।

यस्तै, आव २०७६/७७ मा जम्मा प्रसूति सेवा २२ हजार ४६१ भएकोमा सामान्य प्रसूति १२ हजार ५४, असामान्य प्रसूति १० हजार ४०७ र लोअर सेक्सन सिजरिन सेक्सन ७ हजार ९४५ रहेको थियो। २०७७/७८ मा पनि सिजरिन सेक्सन बढेको देखिन्छ। उक्त वर्ष कूल प्रसूति २२ हजार १४ रहेकोमा सामान्य प्रसूति ११ हजार ५०१, असामान्य प्रसूति १० हजार ५१३ र सिजरिन सेक्सन ८ हजार १०८ रहेको थियो।

छैन एमआरआई मेसिन, आइभीएफ सेवासमेत बन्द
महालेखाको प्रतिवेदनअनुसार अस्पतालले आर्थिक वर्ष २०७६/७७ मा एमआरआई मेसिन अभावमा ४ हजार २०० बिरामीलाई अन्यत्र रेफर गर्नुपरेकोमा यो वर्ष पनि स्थिति यथावत छ। हाल अस्पतालमा कम क्षमताको एकमात्र अल्ट्रासाउण्ड मेसिन रहेकाले रोग निदान गर्न कठिनाई भइरहेको, बिरामीले ३, ४ घण्टासम्म प्रतिक्षा गर्नुपर्ने, धेरै संख्याको स्क्यान गर्दा नतिजा फरक पर्नसक्ने लगायत अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, नवजात शिशुको उपचारका लागि रहेको नियोनाटोलोजी विभागमा पनि २४ घण्टे एक्सरे सेवाको अभावले सेवा प्रवाहमा असर परेको छ। उक्त परीक्षणका लागि अस्पतालले १ हजार शुल्क लिने गरेकोमा निजी क्षेत्रमा उक्त शुल्क ३ हजार लाग्ने गरेको देखिन्छ।

उता अस्पतालले २०६९ सालदेखि आइभीएफ सेवा सञ्चालन गर्दै आएकोमा दक्ष विशेषज्ञ,भौतिक संरचनाको अभावलगायतका कारणबाट सेवा बन्द रहेको छ। सेवा बन्द भएका कारण निसन्तान दम्पत्तिले महंगो शूल्कमा निजी अस्पताल तथा अन्य मुलुकबाट यो सेवा लिनुपरेको अवस्था छ। उक्त सेवा सुलभ र सहज रुपमा सञ्चालन गर्न महालेखाले सुझाव दिएको छ।

 



Leave a Reply

Your email address will not be published.