एक वर्षमा खेर गयो ४८ लाखभन्दा बढी डोज खोप, सबैभन्दा धेरै बीसीजी

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारी अव्यवस्थाका कारण आर्थिक वर्ष २०७७/७८ मा ४८ लाखभन्दा बढी खोप खेर गएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनका अनुसार उक्त आर्थिक वर्षमा विभिन्न खोप गरी ४८ लाख ३ सय ७६ डोज खोप खेर गएको हो।

जसमध्ये बीसीजी सबैभन्दा बढी खेर गएको छ। यो खोप २० लाख ९५ हजार ३९८ डोज अर्थात् ७८.८ प्रतिशत खेर गएको छ। यस्तै, पेन्टा (डीपीटी) ४ लाख ६४ हजार १५२ (२२.२ प्रतिशत), दादुरा रुबेला ९ लाख २७ हजार ५३३ (४८.३ प्रतिशत), पोलियो (ओपीभी) ४ लाख ६३ हजार ५१४ (२३.२ प्रतिशत), जेई ४ लाख ३६ हजार ४४६ (४६.५ प्रतिशत) र टीडी ४ लाख १३ हजार ३३३ (३६ प्रतिशत) खेर गएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

विभिन्न दातृ निकायले अनुदानमा दिएका तथा सरकारले खरिद गरी निःशुल्क लगाउँदै आएका उक्त खोप खेर गएका हुन्। खोप दिँदा खोप तालिका निर्धारण गरी खोप लगाउने र प्राप्त भएका खोपहरु खेर नजाने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव महालेखाले दिएको छ।

खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सन्चालन नभएकाले प्राप्त भएको खोप अस्वाभाविक रुपमा खेर गएको उल्लेख गर्दै महालेखाले खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने विषयलाई विगत वर्षदेखि औंल्याउँदै आएकोमा योवर्ष पनि सुधार नभएको जनाएको छ।

के भन्छ कोरोना खोपबारे महालेखा?
प्रतिवेदनअनुसार नेपालमा हालसम्म दातृ निकायबाट अनुदान, सरकारबाट खरिद र कोभ्याक्स सुविधाबाट प्राप्त गरी ४ करोड २० लाख ४९ हजार ६४० डोज खोप रहेको देखिन्छ। जसमध्ये दातृ निकायबाट १ करोड ९ लाख ३२ हजार ९६०, कोभ्याक्स सुविधाबाट १ करोड १५ लाख १९ हजार ४८० तथा खरिदबाट १ करोड ९५ लाख ९७ हजार २०० डोज खोप प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। प्राप्त खोपमध्ये भेरोशेल ४६.९४ प्रतिशत, कोभिशिल्ड २२.५६ प्रतिशत र अन्य ३०.५ प्रतिशत रहेको छ। यो वर्ष सरकारले भारतको एक कम्पनीबाट कोभिशिल्ड र चीनको कम्पनीबाट भेरोशेल गरी ६० लाख डोज खरिद गरेको छ।

जनवरी २२ सम्म प्राप्त खोपमध्ये ३ करोड २२ लाख १३ हजार ३३६ डोज खर्च भएको देखिन्छ। जसमध्ये ९८ लाख ३६ हजार ३०४ डोज मौज्दात हुनुपर्नेमा ७३ लाख ६७ हजार ६०० डोज मौज्दात छ। विभागमा सो अवधिमा २४ लाख ६८ हजार ७०४ डोज खोप घटी मौज्दात देखिएको छ। सोही अवधिको छानबिन प्रतिवेदनमा खोप प्राप्तिबाट खर्च घटाउँदा ४ लाख ५५ हजार डोज मौज्दान उल्लेख गरेकाले खोपको वास्तविक मौज्दान यकिन गर्न नसकिएको महालेखाले उल्लेख गरेको छ।

कोरोना खोपको पछिल्लो स्थिति
स्वास्थ्य मन्त्रालयका अनुसार असार ३० गतेसम्म कूल खोप ५ करोड ७८ लाख ९७० मात्रा प्राप्त भएकोमा अहिलेसम्म कूल ४ करोड ७५ लाख ३५ हजार ३७८ डोज खोप लगाइएको छ। जसमध्ये एक डोज लगाउनेको संख्या २ करोड ३ लाख ६२ हजार ९२४ र दुवै डोज लगाउनेको संख्या २ करोड ४ लाख १७ हजार ५२८ छ। बुस्टर डोज लगाउनेको संख्या ६७ लाख ५४ हजार ८२६ छ।

 



Leave a Reply

Your email address will not be published.