शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं-भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा चार जनामा प्रत्यारोपण भएको हो।
अर्घाखाँचीकी ४८ वर्षीया महिला, दाेलखाका २७ वर्षीय युवक, तनहुँका ३६ वर्षीय तथा काभ्रेका ३५ वर्षीय पुरुषकाे केन्द्रमा मिर्गाैला प्रत्याराेपण भएकाे हाे। अर्घाखाँचीकी महिलालाई २६ वर्षीया छोरी, दोलखाकालाई ३८ वर्षीया साैतेनी आमा, तनहुँकालाई ३५ वर्षीया श्रीमती र काभ्रेलाई ५२ बर्षीय बुबाले मिर्गौला दान गरेका हुन्।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्रत्यारोपित तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
उनका अनुसार केन्द्रमा हालसम्म ९०० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। ती मध्ये ९९ प्रतिशतको प्रत्यारोपण सफल भएको छ। यसैगरी, हाल ६०० जना मिर्गौला रोगी पालो कुरेर बसेको पनि डा श्रेष्ठले जानकारी दिए।