ज्येष्ठ नागरिकलाई कृत्रिम दाँतको सेट उपहार

काठमाडौं–दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलक्षित निःशुल्क कृत्रिम दाँत शिविरबाट पाँचथर र छिमेकी जिल्लाका एक हजारभन्दा नागरिकले फाइदा लिएका छन्।
शिविर असार १६ गतेदेखि एक हप्तासम्म सञ्चालन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी र प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले शिविरको सफलताको शभकामना दिएका थिए।
शिविरका प्रमुख वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकीले शिविरको उद्देश्य, प्रक्रिया तथा पाउन सकिने सेवा र हुने उपलब्धिका बारेमा मन्तब्य राखेका थिए।
डा. बुढाथोकीले दाँतको फाईदा र दाँतको सेट लगाएपछि ज्येष्ठ नागरिकको जीवनशैलीलगायत आयु बढ्ने कुरामा प्रकाश पारेका थिए।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हक मान्दै सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क, आकस्मिक सेवाबाट कसैलाई वञ्चित नगर्ने तथा स्वास्थ्य सेवामा सबै नागरिकमा बराबर पहुँच स्थापना गर्ने, जनस्वास्थ्य सेवा ऐन तथा नियमावलीमा समेतमा लेखिएका बुँदालाई आत्मसात गर्दै अति दुर्गम तथा ज्येष्ठनागरिक लक्षित कृत्रिम दाँत शिविर गरिएको उनले बताए। कार्यक्रममा डा. लोहनीले मुस्कान फर्काई खुसी र सुखी बनाउने काम हुने बताए।
शिविरमा १ हजारभन्दा बिरामीको दाँत तथा मुखको परीक्षण, १२१ ज्येष्ठ नागरिकको पुरै कृत्रिम दाँत डेण्चर र केहीको आरपीडी राखिने, २१२ जनाको काम नलाग्ने दाँत उखेलिदिने तथा दाँत र मुखसम्बन्धी सबै समस्याको परीक्षण तथा परामर्श दिने काम भएको डा. बुढाथोकीले बताए।
फिदिम माध्यमिक विद्यालयलगायत स्कूलका ३ सय बढी बिद्यार्थीहरुलाई टुथब्रससहित दाँत सफा गर्ने तरिका, ओरल हाईजिन, स्वास्थ्य जनचेतना, समयको महत्वका बारेमा समेत कक्षा लिईएको शिविरको नेतृत्व गरेका डा. बुढाथोकीले बताए।
दाँत लगाईसकेपछिको फलो अप गर्न आवश्यक सामान र उपकरणसहित जिल्ला अस्पतालकै दन्तचिकित्सकलाई अनुरोध गरिएको छ। यसअघि २०७८ फागुनमा पनि स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखाले बझाङ अस्पतालमा यस्तै शिविर गरेको थियो।