स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित, के छ विधेयकमा?

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई प्रतिनिधिसभाको बुधबारको बैठकले पारित गरेको हो।

बैठकमा विधेयकको संशोधन प्रस्तावकर्ताका तर्फबाट बोल्दै माओवादी केन्द्रका सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यो विधेयकले स्वास्थ्यकर्मीको मनोबललाई सम्बोधन गरेको र सकारात्मक रहेको बताए। उनले ऐनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथिको भौतिक आक्रमणका विषयमा मात्र केन्द्रित भएको भन्दै विश्व स्वास्थ्य संगठनले भनेझैं स्वास्थ्यकर्मीका मानसिक स्वास्थ्यलाई छुन नसकेकाले यो विषयलाई पनि समेट्नुपर्ने बताए।

नेमकिपाका सांसद प्रेम सुवालले प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने तथा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने माग गरेका थिए।

‘अहिले १३ सय होइन, लाखौं चिकित्सक चाहिने अवस्था छ,’ उनले भने, ‘३२ वर्षमा पनि दरबन्दी थप्नेतर्फ ध्यान नदिने हो भने यो विधेयकको औचित्य छैन।’

उनले ख्वप विश्वविद्यालयले १५ लाखमा डाक्टर पढाउने व्यवस्था गछौंं भन्दा पनि स्वीकृति नै नपाइरहेको गुनासो गरे।

यसअघि चिकित्सक संघको पहलमा मंगलबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा विधेयकलाई बुधबार नै प्रस्तुत गर्ने सहमति भएको थियो।

आजैको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७८ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

गत वैशाख २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। उक्त अध्यादेशलाई प्रतिनिधिसभाले अनुमोदन गरेको हो।

के छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमा?

विधेयकमा मा ‘स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने’ मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ भन्ने प्रावधान थप गरिएको छ।

स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरकि रुपमा चोट पुर्‍याउनेलाई पनि पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था गरिएको छ। विधेयककाे कसूर र सजायसम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐनअन्तर्गतको कसूर गरेको मानिनेछ’ भनिएको छ।

अब स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने अध्यादेशमा उल्लेख छ। यदि यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

चिकित्सक संघले थप गरिएको यो प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।

यसकारण ल्याउनुपर्‍यो स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश

 

 



Leave a Reply

Your email address will not be published.