आइओएमले ५० औं वार्षिकोत्सव साताव्यापी रुपमा मनाउँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव साताव्यापी रुपमा मनाइरहेको छ। त्रिविअन्तर्गत आइओएमको स्थापना सन् १९७२ मा स्थापना भएको थियो।

५० औं वार्षिकोत्सवका कार्यक्रमअन्तर्गत मुख्य कार्यक्रम साउन १ गते हुनेछ। असार २३ मा आइओएम कप फुटसलबाट सुरु भएको कार्यक्रमअनुसार २५ असारमा एकेडेमिक मिट, २६ गते साताव्यापी वार्षिकोत्सव कार्यक्रमको उद्घाटन, रक्तदान तथा पत्रकार सम्मेलन, २७ गते प्रदर्शनी, २८ गते फिजिसियन र सर्जनबीच फुटसल, २९ गते सांस्कृतिक दिवस, ३० गते पदक वितरण, ३१ गते अस्पताल दिवस र ३२ गते आइओएम मिनि म्याराथन हुनेछ।

मुख्य कार्यक्रम साउन १ को समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहने जनाइएको छ।

स्थापनायता आइओएमले स्नातक तहका एमबीबीएस, बीडीएस, बीपीएचलगायतका कार्यक्रमअन्तर्गत २६ हजार १६३ जना र स्नातकोत्तर तथा विद्यावारिधी तहका ४ हजार ८६५ स्वास्थ्य जनशक्ति उत्पादन गरिसकेको छ। यसैगरी अध्ययन संस्थानसँग सम्बन्धन प्राप्त कलेजबाट ९४०० स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन भइसकेको छ।

आइओएमअन्तर्गत विभिन्न विधा र तहका २ हजारभन्दा बढी स्वास्थ्यसम्बन्धी जनशक्तिहरु उत्पादन हुन्छन्। यसअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसलगायत ७ वटा आंगिक क्याम्पस, १ केन्द्रीय विभाग र १५ वटा सम्बन्धनप्राप्त कलेज छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आइओएम डिन प्रा डा दिव्यासिंह शाहले देशलाई आवश्यक पर्ने विशिष्ट प्रकारको दक्ष जनशक्ति उत्पादनका लागि सबै प्रकारका विशिष्टिकृत सेवा विस्तार गरी तदनुरुप सेवा सञ्चालन गर्ने योजना रहेको बताइन्।

यस्तै, अनुसन्धानमुलक कार्यक्रम सन्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने पनि आइओएमको लक्ष्य रहेको बताइन्।

 



Leave a Reply

Your email address will not be published.