रत्ननगर अस्पतालमा शिशु सघन उपचारकक्ष सञ्चालन

हेल्थपोस्ट नेपाल

चितवन-पूर्वी चितवनका चारवटा पालिकाका जनतालाई सेवा दिँदै आएको बकुलहर रत्ननगर अस्पतालले सेवा विस्तार गर्दै लगेको छ। अस्पतालले पहिलोपटक छ शय्याको शिशु सघन उपचारकक्ष (एनआइसीयू) र दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुुरु गरेको हो।

नवजात शिशुको उपचारका लागि एनआइसीयू सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले बताए। प्रसूति सेवा दिँदै आएको अस्पतालमा एनआइसीयूको अभाव थियो। हाल छ शय्याको एनआइसीयू सुरु गरिएको भए पनि १२ शय्यासम्म विस्तार गर्न सकिने उनले बताए। भर्खर जन्मेकादेखि २८ दिनसम्मको शिशुको उपचारमा एनआइसीयू प्रभावकारी हुने उनको भनाइ छ। जन्मिँदा नै आफैँ श्वास फेर्न नसक्ने र गम्भीर खालका स्वास्थ्य समस्या देखिएका शिशुलाई एनआइसीयूको आवश्यकता पर्दछ।

विगतमा एनआइसीयू आवश्यक पर्दा भरतपुर पठाउनुपर्ने अवस्थाको अन्त्य भएको डा बगालेले बताए। एनआइसीयू सञ्चालन गर्न भने जनशक्तिको अभाव रहेको उनकाे भनाइ छ।  छ शय्याको एनआइसीयू सञ्चालन गर्न कम्तीमा १० जना तालिमप्राप्त नर्स आवश्यक पर्नेमा हाल चार जनाले काम गरिरहेको उनको भनाइ छ । अस्पतालमा मासिक १०० जनाले प्रसूति सेवा लिँदै आएका छन् । प्रसूति सेवा दिने अस्पतालमा एनआइसीयू अतिआवश्यक हुने डा बगाले बताउछन्।

यसैगरी अस्पतालले दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको छ । पित्तथैली, महिलाको पाठघरसम्बन्धी शल्यक्रिया, कानलगायतका अङ्गमा यो प्रविधिबाट शल्यक्रिया गर्न सकिने उनको भनाइ छ। पेट नचिरी स–साना प्वाल पारेर दूरविनजडित अत्याधुनिक उपकरणले गरिने शल्यक्रिया नै ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरविन पद्धतिबाट गरिने शल्यक्रिया हो ।

पचास शय्या (बेड) स्वीकृत पाएको अस्पतालले हाल ८० शय्या सञ्चालन गर्दै आएको छ । अस्पतालमा तीन शय्याको शल्यक्रियाकक्ष, १० शय्याको पोष्टअप रहेका छन्। अस्पतालमा १६ विशेषज्ञ, १० मेडिकल अफिसर र ३० जना नर्स कार्यरत छन्। अस्पतालमा मेडिसिन सेवा, सर्जरी, प्रसूति, बालबालिका, छाला, नाक–कान–घाँटी, रेडियोलोजी, अर्थोपेडिक, अल्ट्रासाउण्ड, एक्सरेलगायत सुविधा उपलब्ध छन् । चौबीसै घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन छन् । अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ भने पिसिआर ल्याब (प्रयोगशाला) समेत रहेको छ ।

निकट भविष्यमा नै एक सय शय्याको बनाउन लक्ष्य लिइरहेको डा बगालेले बताए।



Leave a Reply

Your email address will not be published.