किन हुन्छ पिसाबमा संक्रमण, के हुन् यसका राेकथाम र उपचार?

मानिसको पिसाब कीटाणुरहित हुनुपर्छ । माइक्रोस्कोपिक परीक्षणका क्रममा पिसाबमा कीटाणु देखिएमा वा कल्चर गर्दा अत्यधिक मात्रामा कीटाणु भेटिएमा त्यसलाई पिसाबमा भएको संक्रमण भन्ने गरिन्छ।

मानव शरीरका सम्पूर्ण अंगहरूमा मानवलाई हानि नगर्ने किसिमका ब्याक्टेरिया हुन्छन् । पिसाब फेर्ने, दिसा गर्ने ठाउँवरपर त झन् मानव शरीरका अन्य ठाउँभन्दा धेरै ब्याक्टेरिया हुन्छन्। कुनै कारणवश ती ब्याक्टेरियाहरू मूत्रनलीे वा मूत्रथैलीमा पुगेमा पिसाबको संक्रमण हुने गर्दछ।

मानिसले फोहोर ठाउँमा पिसाब गरेमा पिसाबमा विभिन्नखाले संक्रमण हुन सक्छ भन्ने आशंका गर्छन्, तर त्यस्तो हुने भने होइन । ब्याक्टेरिया मानव शरीरबाट नै हुने हो र त्यसले नै पिसाबमा संक्रमण गराउने गर्छ। उपचारका क्रममा इन्डोस्कोपी गरेको समयमा तथा पाइपको प्रयोग गरेका कारणले पनि कीटाणुहरू मूत्रथैलीमा गई पिसाबको संक्रमण हुन सक्छ।

लक्षण
– पिसाब गर्ने वेलामा पोलेको अनुभव हुनु ।
– पटक–पटक पिसाब लागेको महसुस हुनु ।
– कहिलेकाहीँ पिसाबमा रगत देखापर्नु ।
– कामज्वरो आउनु।

पिसाबमा संक्रमण भएको छ कि छैन थाहा पाउनका लागि चिकित्सककहाँ गएर परीक्षण गराउनु आवश्यक हुन्छ । कल्चर प्रविधिको प्रयोगले कुन किसिमको ब्याक्टेरियाले आक्रमण गरेको छ भन्ने थाहा पाउन सकिन्छ, जसका लागि कम्तीमा २ दिनको समय लाग्छ । पिसाबको सामान्य जाँच तथा कल्चर प्रविधिबाट पिसाबको संक्रमणबारे थाहा पाउन सकिन्छ।

बारम्बार पिसाबको संक्रमण हुनु भनेको कुनै अन्य रोगको लक्षणसमेत हो। पिसाबमा हुने संक्रमण विशेषगरी बालबालिका र वृद्घहरूमा बढी हुन्छ । बच्चा जन्मेको सामान्यतया २–४ महिनादेखि ५–७ वर्षसम्म बच्चामा पिसाबको संक्रमण हुने गर्छ । जन्मजात रूपमा बच्चाको पिसाबथैलीमा केही समस्या भएका कारण पनि यस्तो हुने गर्छ । पिसाबनलीमा झिल्लीले अवरोध पुगेका कारण पिसाबथैली तथा पिसाबनलीमा पिसाब जम्मा हुनाले पनि पिसाबको संक्रमण हुने गर्छ । बच्चामा लगातार पिसाबको संक्रमण भएमा युरोलोजिस्टको सल्लाहअनुसार उपचार गराउनुपर्ने हुन्छ । यदि उपचार तथा युरोलोजिस्टको सल्लाहअनुसार काम गर्न नसकेको खण्डमा कलिलै उमेरमा मिर्गौला फेल हुन सक्छ ।

महिलामा विवाहपश्चात् पनि पिसाबको संक्रमण हुने गर्छ। विवाहपश्चात् हुने यौनसम्पर्कका कारण यस्तो हुने गर्छ । अर्काे भनेको पाको उमेरका पुरुषहरूमा प्रोस्टेटको आकार बढ्ने भएकाले उनीहरूमा पनि पिसाबको संक्रमण हुने गर्छ । वेलैमा पिसाबमा हुने संक्रमणबारे युरोलोजिस्टको सल्लाहअनुसार उपचार नगरेमा यसले मानिसको ज्यानसमेत लिन सक्छ।

उपचार विधि
१. औषधिको प्रयोग
सामान्यतया संक्रमण ब्याक्टेरियाका कारण हुने भएकाले यसका लागि एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ । पिसाबको संक्रमणमा डाक्टरको सल्लाहअनुसार ७ देखि १४ दिनसम्म एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ ।

२. शल्यक्रिया
यदि संक्रमण कुनै अन्य कारणहरू जस्तै मूत्रथैलीको समस्या, मूत्रनलीमा अवरोध वा पिसाब मिर्गौलातिर फर्कने अवस्थाले भएको छ भने त्यतिवेला शल्यक्रियाबाट पिसाब सजिलै निस्कने गरी बाटो बनाउनुपर्ने हुन्छ । यसका लागि शल्यक्रिया नै उत्तम उपाय हो ।

रोकथामका उपाय
पहिलो त पिसाब संक्रमणका कारण थाहा पाउनु आवश्यक छ । पानी कम खाने आदत भएका मानिसले अत्यधिक पानी पिउने गर्नुपर्छ । खानेकुरामा पर्याप्त पोषकतत्व समावेश गर्नुपर्छ । पिसाब जम्न दिनुहुँदैन । कतिपयले सार्वजनिक शौचालयको प्रयोग गरेमा पिसाबमा संक्रमण हुन्छ समेत भन्ने गरेको सुनिन्छ, तर यसको कुनै वैज्ञानिक आधार छैन । बरु धेरैबेरसम्म पिसाब रोकेमा चाहिँ पिसाबको संक्रमण हुने गर्छ । सामान्यतया ३–४ घण्टाको अन्तरालमा पिसाब गरिरहनुपर्ने हुन्छ । पिसाबको संक्रमणको महत्वपूर्ण रोकथामको उपाय भनेको संक्रमण हुने कारणहरू पत्ता लगाएर त्यसतर्फ सचेत रहने र संक्रमणको आशंका हुनासाथ उपचार गराउने नै हो ।



Leave a Reply

Your email address will not be published.