मेडिकल म्युजियम स्थापनाका लागि बागमती प्रदेश सरकारको ५० लाख बजेट

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल चिकित्सक संघको पहलमा स्थापना हुन लागेको मेडिकल म्युजियमका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मेडिकल टुरिजमको सम्भावनाका पक्षमा सोचिरहेका बेला मेडिकल म्युजियमको स्थापना गर्ने संघको अवधारणालाई मूर्तरुप दिन बजेट विनियोजन गरिएको बताए।

उनले यो योजनाका लागि थप रकम आवश्यक परे रकमान्तर गरेर पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। यस्तै मन्त्री श्रेष्ठले मेडिकल टुरिजमको सम्भाव्यता अध्ययनका लागि पनि रकम छुट्याएको जानकारी दिए।

त्यस अवसरमा संघका अध्यक्ष डा लोचन कार्कीले नेपालमा चिकित्सा अभ्यास सुरु भयताका इतिहास सुरक्षित राख्न र आउने सन्ततिका लागि पनि उपयोगी बनाउन म्युजियम स्थापना गर्न लागिएको बताए।

मन्त्री श्रेष्ठलाई मेडिकल टुरिजमबारेकाे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै डा लाेचन कार्की

मेडिकल म्युजियमले नेपालमा चिकित्सा क्षेत्रको विकासको अध्ययन गर्न र विदेशका विद्यार्थीलाई पनि अनुसन्धानको सन्दर्भ सामग्रीको रुपमा विकास गर्न सघाउन पुर्‍याउने उनले बताए।

यसका लागि विगतमा प्रयोग भएका सामग्री संकलन गर्न विभिन्न स्वास्थ्य संस्था, चिकित्सकलगायतलाई पत्राचार गरिएको उनले बताए।

सोही अवसरमा अध्यक्ष कार्कीले मेडिकल टुरिजमबारे तयार पारेको अनुसन्धान प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा संघका उपाध्यक्ष डा अनिलविक्रम कार्कीले आगामी पुस्ताका लागि उपयोगी बनाउने गरी स्थापना गर्न लागिएको मेडिकल म्युजियमका लागि बजेटमार्फत् सहयोग गरेकोमा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए। उनले मेडिकल टुरिजममार्फत् राज्यको आर्थिक वृद्धिदरमा सहयोग पुर्‍याउने पनि बताए। त्यसअवसरमा संघले मन्त्री श्रेष्ठलाई सम्मान पनि गरेकाे थियाे।

 



Leave a Reply

Your email address will not be published.