अखिल नेपाल भिक्षु महासंघबाट श्रीलंकालाई २५ लाख बराबरको औषधि सहयोग

हेल्थपोस्ट नेपाल

काठमाडौं–अखिल नेपाल भिक्षु महासंघले श्रीलंकालाई २५ लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि सहयोग गरेको छ।

नेपालका प्रमुख संघनायक भिक्षु बोधिसेन महा थेरो तथा संघका अध्यक्ष धम्म शोभना थेरो, संघअन्तर्गतको ‘ह्याण्ड्स अफ श्रीलंका’ का संयोजक पन्नासारा थेरोको उपस्थितिमा बुधबार आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख संघनायक थेरोले नेपालमा थेरवाद बुद्धधर्मको प्रबद्र्धनमा श्रीलंकाको सहयोग रहेको उल्लेख गर्दै नेपालका थुप्रै भिक्षुहरुले श्रीलंकामा शिक्षा प्राप्त गरेको बताए।

संघका अध्यक्ष धम्म शोभना थेरोले श्रीलंका र नेपालबीचको मानवीय सहायताको चर्चा गर्दै सन् २०१५ को भूकम्पमा श्रीलंकाले गरेको सहयोगको स्मरण गरे। नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुणतीलकाले नेपालबाट प्राप्त सहयोगको सराहना गरिन्।

श्रीलंकामा मानवीय सहयोगका लागि संघका साथै युवा बुद्ध संघ, धर्मोदय सभा, युवा बुद्ध समूह भक्तपुर, महिला बुद्ध संघ तथा युवा बुद्ध समूहका प्रतिनिधिको सहभागितामा ह्याण्ड्स अफ श्रीलंका गठन गरिएको थियो।

यसअघि श्रीलंकालाई एसियन फर्मास्युटिकल्स एशोसियसनले श्रीलंकालाई औषधि सहयोग गरेको थियो।

 



Leave a Reply

Your email address will not be published.