बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिदले दिए पदबाट राजीनामा

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री बोरिस जोन्सनसँगको विवादपछि बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिदले पदबाट राजीनामा दिएका छन्। उनी सन् २०२१ जुन महिनादेखि स्वास्थ्यमन्त्री बनेका थिए। जाभिदले प्रधानमन्त्री जोन्सनको नेतृत्वमा भरोसा नभएको बताएका छन्।

जाभिदले सरकारले राष्ट्रहितमा काम नगरेको आरोप लगाएका छन्। उनको ठाउँमा डाउनिङ स्ट्रीटका चिफ अफ स्टाफ स्टीभ बार्सलीलाई पठाइएको छ।

यसका साथै अर्थमन्त्री ऋषि सुनकले पनि राजीनामा दिएका छन्। दुवैले प्रधानमन्त्री जोन्सनले माफी मागेको केही समयमै राजीनामा दिएका हुन्।

जोन्सले सांसद क्रिस पिन्चरलाई सरकारी जिम्मेवारी दिएको प्रकरणमा माफी मागेका थिए।

यो प्रकरणमा बेलायतमा राजीनामाको लहरै आएको छ। सुनक र जाभिदका साथै कन्जरभेटिभ पार्टीका उपाध्यक्ष बिम अफोलोमी, वाणिज्य राजदूत एन्ड्रयु मोरिसन, मन्त्रालयका सहयोगी जोनाथन गुलिस र साकिब भाटीले राजीनामा दिएका छन्।

के थियो क्रिस पिन्चर प्रकरण
कन्जरभेटिभ पार्टीका सांसद क्रिस पिन्चरलाई २०१९ मा यौन दूराचारको आरोप लागेको थियो।

उनीमाथि लागेको आरोपबाट थाहा हुँदाहुँदै पनि जोन्सनले गत फेब्रुअरीमा डेपुटी चिफ अफ ह्वीप बनाएको भन्दै आलोचना भइरहेको छ।

गत साता यौन दुराचार प्रकरणमा कन्जरभेटिभ पार्टीले पिन्चरलाई सांसद पदबाट निलम्बन गरेको थियो। यदपि पिन्चरले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरेका छन्।



Leave a Reply

Your email address will not be published.