नेपालमा उकालो लाग्दै कोरोना संक्रमण, एकै दिन थपिए ९० संक्रमित, सक्रिय संक्रमितको संख्या ४ सय नाघ्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कोरोना संक्रमण उकालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९० संक्रमित थपिएका छन्। ३ हजार ११२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सबैभन्दा धेरै काठमाडौंमा थपिएका छन्। काठमाडौंमा ४३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा ७, कैलालीमा ३, बाँकेमा ३, भक्तपुरमा २, मोरङमा २ र सर्लाहीमा २ जनामा संक्रमण देखिएको छ। इलाम, उदयपुर, ओखलढुंगा, धनकुटा, सुनसरी, बारा, कास्की, बाग्लुङ, पाल्पा, रुकुमपूर्व र सुर्खेतमा १–१ जनामा संक्रमण देखिएको छ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २६३ रहेको छ। जसमा काठमाडौंमा २१९, भक्तपुरमा १० र ललितपुरमा ३४ रहेको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ९ लाख ७९ हजार ९०८ (पीसीआरतर्फ) र १ लाख ४० हजार ५३६ (एन्टिजेनतर्फ) पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा २० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ४०१ रहेको छ। सो अवधिमा १ लाख ११ हजार ५३१ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.