कन्सल्टेन्ट नियाेनेटोलोजिस्टको सिफारिस रद्द गर्न माग गर्दै लोकसेवामा निवेदन, आयोगले तोकेकै योग्यता नपुग्ने दाबी

काठमाडौं–लोकसेवा आयोगले केही समयअघि नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै सिफारिस रद्द र छानबिनको माग गर्दै आयोगमा निवेदन परेको छ।

आयोगले विज्ञापन नम्बर १७२४८/०७८–७९ नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि आवेदन आव्हान गरेको थियो।
उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने आयोगले उल्लेख गरेको थियो।

तर, उक्त पदमा सिफारिस भएका डा प्रकाश थापाको आयोगले तोकेअनुसारको न्युनतम शैक्षिक योग्यता नभएको उल्लेख गर्दै त्यसबारे छानबिन गर्न र सिफारिस रद्द गर्न माग गर्दै आयोगमा निवेदन परेको हो।

नियोनेटोलोजीमा डीएम गर्दै गरेका विद्यार्थीहरुको समूहले डा थापाको पेडियाट्रिक्स विषयमा एमडी डिग्री भए पनि तोकिएअनुसार नियोनेटोलोजीमा फेलोसिप वा डीएम नियोनेटोलोजी डिग्री नभएको र नियोनेटोलोजीमा मेडिकल काउन्सिलमा दर्ता नभएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए। यस्तै, उनीहरुले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए।

‘यो विषयमा सुनुवाइ नभएपछि हामीले योग्यता नै नपुगेका डा थापाको नियुक्त कसरी भयो भन्ने विषयमा जानकारी माग गर्दै सूचनाको हक प्रयोग गरी हामीले आइतबार लोकसेवामा निवेदन दिएका छौं,’ एक विद्यार्थीले हेल्थपोस्टसँग भने।

उनका अनुसार छानबिन प्रक्रियाको मागका लागि अदालतमा रिट दायर गर्ने तयारी पनि अघि बढेको छ।

तर आयोगले एम्स दिल्लीबाट नियानेटोलोजी विषयमै ५ वर्षे डीएम पढेर आएका डा धिरेन्द्रप्रसाद यादवको भने आवेदन भने अस्वीकार गरेको थियो।

‘विज्ञापनमा उल्लेख भएअनुसार नै दिल्लीस्थित एम्सबाट नियोनेटोलोजीमा डीएम गरेको थिएँ, मैले आवेदन गरेपछि समकक्षता मागियो। तर त्यो ल्याउन ढिलाइ भयो। सोहीकारण मेरो आवेदन अस्वीकार गरियो,’ डा यादवले भने, ‘तर पछि थाहा पाएँ, जसलाई सिफारिस गरिएछ, उहाँको त एमडी पेडियाट्रिक्समात्रै रहेछ, जुन विज्ञापनकोअनुसार थिएन।’

उनले झुक्याएर आवेदन आव्हान गरिएको र गलत प्रक्रियाबाट सिफारिस गरिएको भन्दै सिफारिस रद्द गर्न माग गर्दै लोकसेवामा निवेदन दिइएको बताए। लोकसेवाबाट कुनै प्रक्रिया अघि नबढे अदालत जाने बारेमा पनि तयारी भइरहेको उनले बताए।

विज्ञापनमा न्युनतम योग्यता एमडी पेडियाट्रिक्स नै भनिएको भए थुप्रै चिकित्सकले आवेदन दिने उनको भनाइ छ। डा यादवले पनि एमडी पेडियाट्रिक्स मनिपाल कलेजबाट गरेका हुन्।

एमडी पेडियाट्रिक्सको आवेदन स्वीकार गर्दा सोही शैक्षिक योग्यता भएको आफ्नो आवेदन अस्वीकार गर्नुको कारण खोजिरहेको डा यादवले बताए। यसबारेमा लोकसेवामा सोध्दा ‘प्रक्रियामा छौं सिफारिस खारेज गर्छौं’ भनेर जवाफ पाउने गरेको उनले बताए।

लोकसेवा आयोगले पनि उक्त सिफारिस रद्द गर्न माग गर्दै निवेदन परेको जनाएको छ। आयोगको सिफारिस शाखाका जीवन शर्माले भने, ‘छानबिनका लागि निवेदन परेको छ, फाइल अघि बढ्ने क्रममा छ, बोर्डले जे निर्णय गर्छ, त्यहीअनुसार हुन्छ।’



Leave a Reply

Your email address will not be published.