चर्चित युट्युबर ‘टेक्नोब्लेड’ लाई लागेको क्यान्सर कस्तो खालको हो?

हेल्थपोस्ट नेपाल

टेक्नोब्लेड युट्युब तथा अनलाइन गेमिङप्रति चासो राख्नेका लागि कुनै नौलो नाम होइन। उनी माइनक्राफ्ट गेमलाई लिएर युट्युब भिडियो बनाउने चर्चित युट्युबर हुन्। उनको टेक्नोब्लेड नामक च्यानलका ११ मिलियनभन्दा बढी सब्स्क्राइबर छन्। एलेक्स वास्तविक नाम भएका टेक्नोब्लेडको केहीदिनअघि क्यान्सरका कारण निधन भयो। उनको निधनपछि उनका बाबुले भावुक भिडियो पोस्ट गर्दै आफ्ना छोरालाई सम्झिएका थिए। निधनको समयमा टेक्नोब्लेड जम्मा २३ वर्षका मात्र थिए।

सन् २०२१ को जुलाईमा टेक्नोब्लेडले पाखुरा दुखेको अनुभव गरे। अनलाइन गेममा व्यस्त भएका कारण उत्पन्न तनाव र चोटका कारण त्यस्तो भएको ठानेर उनले केही दिन आराम गरे।

तर केही दिनपछि दाहिने काँध सुन्निन थाल्यो। सोहीकारण उनी डाक्टरकहाँ गए। विभिन्न चरणको परीक्षणपछि दाहिने पाखुरामा ट्युमर भएको पत्ता लाग्यो। अगष्ट २७ मा उनले आफूलाई क्यान्सर लागेको सार्वजनिक गरे। त्यतिखेर उनको युट्युब च्यानलमा ८.५४ मिलियन सब्स्क्राइबर थिए। उनी बिरामी परेपछि नयाँ भिडियोमा ब्रेक लाग्यो।

तत्काल केमोथेरापी सुरु भयो। त्यसपछिका भिडियोमा उनले आफ्नो उपचार सफल भएको बताएका थिए। सुरुका केही दिन सहज भए पनि बिस्तारै उनीभित्रका ऊर्जा समाप्त हुँदै गए। त्यसपछि उनले एक दिन बिताउन पनि गार्‍हो भएको अनुभव बताएका थिए।

उनलाई सार्कोमा क्यान्सर लागेको चिकित्सकहरुले बताएका थिए, जसको ट्युमर कुनै पनि हड्डी या मांसपेशीमा विकसित हुन्छ।

के हो सार्कोमा?
सार्कोमा एक प्रकारको क्यान्सर हो, जो विशेषगरी हाडजोर्नी, कुरकुरे हड्डी, नसा, धमनी, मांसपेशीमा हुन्छ। यसलाई दुर्लभ खालको क्यान्सर मानिन्छ। शरीरमा हुनसक्ने सबै खालका क्यान्सरमध्ये एक प्रतिशतमा मात्र सार्कोमा हुन्छ। अरु क्यान्सर प्रायः बुढ्यौलीमा लागे पनि यो कुनै पनि उमेरका मानिसमा लाग्न सक्छ।

सामान्यतः मानिसका शरीरमा साना तिना गिर्खा हुनसक्छन्। साना, छालाको ठीकमुनि र चलाउन सकिने गिर्खाहरु क्यान्सररहित हुन्छन्। तर सहजै चलाउन नसकिने, ठोस आकार नभएका र छिटो बढ्ने गिर्खाहरु सार्कोमा हुनसक्छन्। यस्ता गिर्खा देखिएकामा तत्काल चिकित्सकको परामर्श लिनुपर्छ।

लक्षण
छालाको माध्यमबाट गिर्खा महसुस गर्न सकिन्छ, जो दुख्ने पनि हुनसक्छ र नदुख्ने पनि।

हड्डीमा दुखाइ हुन्छ।

चोटपटकविना हड्डी भाँचिने हुन्छ।

पेट दुखाइ हुनसक्छ।

तौल घट्नु।

सार्कोमा हुने जोखिम
क्यान्सरको विकिरण उपचारपछि सार्कोमा विकसित हुने खतरा बढ्छ।

वंशाणुगत सिन्ड्रोमः केही सिन्ड्रोमले क्यान्सरको खतरा बढाउँछ। बाबुआमाबाट बच्चामा आउन सक्छ। सार्कोमाको जोखिम बढाउने सिन्ड्रोमको उदाहरणमा पारिवारिक रेटिनोब्लास्टोमा र न्यूरोफाइब्रोमेटासिस टाइप १ सामेल छन्।

केही रासायनिक सम्पर्कका कारण कलेजोलाई प्रभावित गर्ने सार्कोमाको जोखिम बढाउँछ।

सार्कोमा ५० भन्दा बढी प्रकारको हुने बताइन्छ। जसमा सफ्ट टिस्यु सार्कोमा, हड्डी सार्कोमा आदि। हड्डी सार्कोमामा ओस्टियोसार्कोमा, फाइब्रोसार्कोमालगायत पर्छन् भने सफ्ट टिस्यु सार्कोमामा फाइब्रो सार्कोमा, लिपोसार्कोमा, एन्जियोसार्कोमा, ग्यास्ट्रोइन्टेस्टाइनल स्ट्रोमल ट्युमर आदि पर्छन।

उपचार
शल्यक्रिया

विकिरण चिकित्सा

केमोथेरापी

प्रायः सार्कोमा विना कुनै कारण देखापर्छ। यो सरुवा रोग होइन र अरु क्यान्सरमा जस्तो खानपिन या जीवनशैलीका कारण यो रोग लाग्ने होइन। सूर्तीजन्य पदार्थको सेवनसँग पनि यसको सम्बन्ध छैन। तर पनि सुरुमै यसलाई पहिचान गर्न सकियो र सही उपचार गर्न सकियो भने यसलाई निर्मुल पार्न सकिन्छ।

 



Leave a Reply

Your email address will not be published.