बिपीको पीएचसी सपना र गिरिजाबाबुसँगका केही सम्झना

धेरै कुराहरू संझिन गार्‍हाे भयो। खास गरी तिथिमितिहरू याद हुन्न। कुरो पनि पुरानो भयो।

कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानु पर्छ। यसरी बिचार्दा कुरो बिस २०४८ पछिको हो। नेपाली काँग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ बिकास समितिलाई रू. १५ हजार अनुदान दिएको थियो। जरूरतमन्द नागरिकहरूको वडामा सामुहिक रूपमा उपयोग गर्नेगरी १/२ वटा हाते चापाकल (ट्यूबेल) जडान गर्नका लागि। गाउँ पंचायतको रूपान्तरण ‘गाउँ बिकास समिति’ को रूपमा भएको थियो। संभवतः केन्द्रबाट बिषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो। सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाबिसका तत्कालिन सचिव(सरकारी कर्मचारी) बाट होस्। तर, भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो। यसरी सर्वदलीय समिति बनेमा सबै गाबिसहरूमा आफ्नो संगठनको बिस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ।

बिस २०३८ साल तिर नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनका लागि बिपी कोईरालाको देश दौडाहाअन्तर्गत बिपीले कयौं ठाउँहरूमा बिकास योजनाहरूका बारेमा बोल्नु भएको थियो। पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सिके प्रसाईको आयोजनामा भएको थियो। यसरी देश दौडाहाको क्रममा स-साना प्रवचन कार्क्रमहरूमा बिपीले अनेकौ ठाँउमा समाजवादी अर्थतन्त्रको गंभीर परिकल्पनाहरू बारे बोल्नु हुन्थ्यो। सायद यी कुराहरू कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छ, तर आजका पुस्ताले खोजिनीति गरी पढदैनन्।

यसै क्रममा बिपीले भन्नु भएथ्यो, “दक्षिण एशिया खासगरी नेपालमा यहाँका मानिसहरूमा देखिने रोगहरूमा ८० प्रतिशत रोगहरू दुषित खानेपानीको उपयोगबाट हुने गर्दछ।” उहाँले भारत बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उद्धृत गरेर त्यसाे भन्नु हुन्थ्यो र जोड दिनु हुन्थ्यो कि यदि सरकारले आम जनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८० प्रतिशत मानिसहरू बिशेषतः दुषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन्।

गिरिजाप्रसाद कोईराला त्यसबेला साथै रहनु हुन्थ्यो। मसमेत हामी कति जना पनि सँगै हुन्थ्यौं। कुरो सानो थियो, पंचायती शासनले अंचल अस्पताल र कतै कतै जिल्ला अस्पताल खडा गरेको थियो। बिराटनगर र राजबिराजहरूमा अंचल अस्पताल थियो। अंचल भने उत्तरमा सोलु र ताप्लेजुंगसम्म फैलिएको थियो। अंचल अस्पतालको लाभ भने बढीमा मोरंग र सप्तरीका मानिसहरूलाई पुग्ने स्थिति थियो।

बिपीको मुखबाट मैले पहिलो पटक पाँच बेडको पीएचसी(प्राईमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिंगहरूमा सुने। केही गाँउहरूमा स्वास्थ्य चौकीहरू खुल्न थालेको थियो। जहाँ अनमी स्तरका १/२ जना कर्मचारी हुन्थे। बिपीले यौटा जिल्लामा ५/७ गाँउहरू समेटेर १/१ पिएचसी बनाउनु पर्ने बिचार राख्नु हुन्थ्यो। उहाँले यस्तो केन्द्रमा एमबीबीएसभन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्तो केन्द्रहरूमा कमसे कम साधारण औषधिहरू, रगत-खकार-दिसा,पिसाब जाँच्ने सुबिधा र घाउँखटिराको सानो सर्जरीको सुबिधा हुनैपर्ने व्यवस्थामा जोड दिनु हुन्थ्यो। यस्तै खालका मानिसको आँखा नलाग्ने प्रकारका स-साना कुराहरू गर्नु हुन्थ्यो।

हामी चितवन पार गर्‍याै‌ं। अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तरपट्टि ठूल्ठूला डुंगामा मिनी बस र सानो चार पांग्रे मोटर जीपहरू पार गरिन्थ्यो। हाम्रो दौडाहाले जाँहीताही उम्लेका पंचहरूको बिरोधको सामना गर्नुपर्थ्यो। बडो हल्ला थियो, बिपीले चढने डुंगालाई जीप र साथीहरू समेत नारायणीमा डुबाउने योजना छ रे!  आज चितवनमा कृष्णलाल सापकोटा, टेक बहादुर गुरूंग, सायद एक जना धनाढ्य (सुभाष प्रधानको पिता जी), मुक्तिलाल चुके, मैया देवी दिदी, एकनाथ भाट हालैका चर्चित जगन्नाथ पौडेल र अहिले संझना नरहेका धेरै धेरैले बिपीको सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए। अहिलेको काँग्रेसले सायद यीमध्येका धेरैलाई कारबाही गरेर गैर काँग्रेसी बनाएकाे छ।

हामी राति नवलपुरमा सूर्यभक्त अधिकारीको घर (यौटा काठको सानो मचान जस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजा बाबुको कटेरोमा थियौं। अनिद्रामा रहनु भएका गिरिजा बाबुले मलाई अर्हाउनु भयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नु भएका बिभिन्न बिषयका कुराहरू, उहाँका विचारहरूलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। सायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनु हुन्न्। तर, प्रजातन्त्र त आउँछ नै। हामीले उहाँले देखाएका विचारहरूलाई अगाडि बढाउनु पर्छ। मैले यौटा खास काम पाएँ।

मलाई बिपीले भनेको याद छ। उहाँले कार्यकर्ताहरूसँगको कुराकानीमा भन्नु भा’थ्यो; “म विराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्चको स्वयंले जोहो गर्नसक्ने मानिस हुँ। तर, म बम्बईमा क्यान्सरको उपचार गराउन जादाँ खर्च ब्यहोर्न सकिन। जेपी, जय प्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक) को सहयोगबाट अस्पतालको बिल तिर्न सकेँ। आम नेपाली कसरी सक्छन्? हामीले प्रिभन्टिभ हेल्थ सिस्टममा जानु पर्छ। एक/दुई ठूला अस्पताल भए पुग्छ।”

कालान्तरमा गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो। उहाँको दिमाग एक प्रकारले पूर्वपोषित (प्रिअकुपाईड) थिएन। खाली थियो, देशको विकासका बारेमा, जनकल्याणका नीतिहरूका बारेमा केही मन परेका संझनाहरू थिए।

जब गिरिजाबाबु प्रधानमन्त्री हुनु भयो र कसैले ध्यान न दिएको स-साना कुरालाई ज्यादै महत्व दिनु भयो। बिश्व बैंकका प्रतिनिधिसंग भेटदा देशभरमा गरी पहिलो चरणमा २० वटा ‘पीएचसी’ माग्नु भयो। बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नु भयो। यो बेलिब्रिजले त्यसबेलाकाे ठूलो बिध्वंशकारी बाढीको बेला मुलुकको यातायातलाई सुचारू राख्न ठूलो मद्दत गरेको थियो। ठूला ठूला एयरलाईन्सभन्दा पनि हेलिकोप्टर सेवा संचालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनु भयो। यसलाई उहाँले रेस्क्यूसँग जोड्नु भयो। कति सानो कुरा, आज कसैको आँखा नै नलाग्ने, देशका हरेक गाविसलाई खानेपानीका निम्ति ट्यूबेल जडान गर्न रू. १५ हजार अनुदान दिने व्यवस्था गर्नु भयो। उहाँले त्यस देश दौडाहाका क्रममा बिपीले बोल्नु भएको दुषित खानेपानीको कारणबाट देशमा ८० प्रतिशत मानिसलाई पेटको रोग लाग्छ, यो मसिनो जस्तो लाग्ने कुरालाई बिर्सन सक्नु भएन। पिएचसीलाई भुल्नु भएको थिएन।

ठूला ठूला र विपूल बैदेशिक लगानीका साथ, विदेशी महिलाहरूका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढ्नु भएको थिएन-गिरिजा बाबुले!

पूर्वमन्त्री आनन्दकाे फेसबुकबाट



Leave a Reply

Your email address will not be published.