सर्पले टाेक्दा कस्ताे प्राथमिक उपचार गर्ने? कस्ता लक्षण देखिन्छन्? के हुन् बँच्ने उपाय?

सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ।

सर्पले टोकेको प्राथमिक उपचार:
सर्वप्रथम त सर्पले टोकेको हो या होईन भनेर जान्न जरुरी हुन्छ। यदि टोकेको संका लागेको ठाउँमा स-साना दुइवटा घाउ छन् भने त्यो सर्पले टोकेको हुनसक्छ। सर्पले टोकेको थाहा पाएमा सकेसम्म सर्पलाइ चिन्ने प्रयास गर्नुपर्छ। प्राय: करेत , गोमन, लम्भा नामले जानिने सर्पहरु बढी भेटिने गर्दछन्।

सर्पले डसेको व्यक्ति प्राय: अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ। टोकेको भागलाई धेरै चलाउदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउनुपर्छ। हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।

गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेसर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ। तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुदैंन। कसेर बाँध्नाले त्यसभन्दा मुनिकॊ भागमा रक्तसंचार पूरै बन्द हुन जान्छ र उक्त भाग मरेर खेर जान सक्ने हुन्छ।

विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको ( एन्टिडाेट) प्रयोग सुरु नभएसम्म त्यो प्रेसर ब्यान्डेज खोल्नुहुँदैन।

सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउनुपर्छ।

सर्पको टोकाइबाट बच्ने उपायहरु:
१. आफ्नो ठाँउ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने। ती कस्तो ठाँउमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ।

२. वर्षाको समयपछि, खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्‍याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढी हुन्छ ।

३. रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्कने गर्नुपर्छ। एक अध्ययनका अनुसार करिब ७५ प्रतिशत विषालु सर्पको डसाईका घटना रातको समयमा भएको पाइएको छ।

४. सर्प पाइनसक्ने ठाँउमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।

५. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुदैंन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुदैंन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिश गर्नु हुँदैन।

६. सम्भव भएसम्म भुईंमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।

७. रुख अथवा जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुदैंन।

८. जुत्ता लगाउँदा जुत्ता भित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ।

९. भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुदैंन।

१०. सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।

११. बालबालिकाहरुलाइ सर्प हुनसक्ने ठाउँहरुका बारेमा जानकारी दिने र साबधान रहन सिकाउनुपर्छ।

१२. सर्पको डसाईमा गरिने प्राथमिक उपचार थाह पाइराख्ने र प्रतिविष (एन्टिस्नेक भेनम) पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्नु पर्दछ ।

सर्पको डसाईका चिन्ह र लक्षणहरु :
सर्प भन्नेबित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षण देखिन सक्छन् जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मुटुको धड्कन कम हुँदै जाने, रक्तचाप घट्ने, बेहोस हुने आदि।

अचम्म लाग्न सक्छ, तर यी सबै लक्षण  विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिनसक्छ। तर पनि सर्पले टोकेका हरेक विरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्‍याउनुपर्छ।

त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसंचारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मरेर खेर जाने पनि हुनसक्छ।

सर्पले डसेको भाग र त्यस वरपरमा देखिने लक्षणहरु :
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन। डसेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने, नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने ।

सम्पूर्ण शरीरमा देखिने लक्षणहरु:-
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने।

डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूलाठूला राता दाग देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने आदि। यी रगत बग्ने लक्षणहरु मुख्यतया भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुका विष रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।

त्यस्तै गोमन, करेत (जसको विष स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्) हरुको डसाइमा हातखुट्टा झमझमाउने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्‍याल बगिरहने, स्वास फेर्न गाह्रों हुने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणहरु देखिन्छन्।

सर्पको डसाईपछि के नगर्ने?
१) टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढी गई विरामीको मृत्यु हुनसक्छ।

२) चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिँदैन। बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।

३) धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा/ Snake stone को उपचारतर्फ लागेर महत्वपूर्ण समय नगुमाउने। विश्वासका आधारमा यी उपचारले बिरामीलाई  मानसिकरुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा विरामीको ज्यान जानसक्छ।

४) टोकेको अंगलाई अनावश्यकरुपमा नचलाउने।

५) घाउमा कुनै पनि प्रकारको जडिबुटी, बरफ तथा औसधिको प्रयोग नगर्ने।

५) चिकित्सकले नभनेसम्म केही नखाने, नपिउने।

सर्पको डसाईको उपचार :
प्रतिविष (एन्टीस्नेक भेनम) को प्रयोग विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार हो र कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण कुरा हो ।

नेपालमा प्रयोग गरिने प्रतिविषले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन।

यो एन्टिस्नेक भेनम सर्पदंश उपचार केन्द्रहरुमा नि:शुल्क पाइन्छ। यसका खराब असरहरु धेरै हुने भएकोले, बढी महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्ध हुने भएकाले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गरिँदैन।

डा अवस्थी डडेल्धुरा अस्पतालमा कार्यरत छन्


Leave a Reply

Your email address will not be published.