उपत्यकामा थप तीन जनामा हैजा पुष्टि, प्रभावितको संख्या १७ पुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौँ उपत्यकामा शुक्रबार थप तीन जनामा हैजा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो संख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले प्रभावितमध्ये १२ पुरुष र पाँच महिला रहेको र पाँच जनाको उपचार भइरहेको जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद व्यवस्थापन इकाई प्रमुख डा समीरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेका छन्।

अस्पतालहरुलाई पत्र

मनसुनजन्य प्राकृतिक विपदका कारण आउने स्वास्थ्य समस्यासँगै खानेपानी प्रदूषण भई हैजा रोगलगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेकाे छ।

जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आवश्यक रहेको मन्त्रालयकाे भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि नै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी पठाइसकेको सहप्रवक्ता समीरकुमार अधिकारीले जनाएका छन्।

पत्रमा विपद्का घटना र महामारी लगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, शय्याहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न भनिएको छ।



Leave a Reply

Your email address will not be published.