नवनियुक्त स्वास्थ्यमन्त्री खापुङले भने–ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ

काठमाडौं–नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य सेवाको पहुँच नभएका ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री खापुङले भने, ‘दूरदराजका ठाउँमा सामान्य रोगको चेकजाँचको सुविधा नपाएर नागरिक पीडित भएका छन्। यसअघि कोरोना महामारीका कारण ध्यान दिन नपाएपनि अब त्यस्ता ठाउँमा शिविर सञ्चालन गर्न महत्व दिनुपर्छ।’
उनले खोपमा प्राप्त उपलब्धीलाई डब्लुएचओले पनि प्रशंसा गरेको भन्दै मिर्गौला प्रत्यारोपण, डाइलासिसजस्ता कुरामा सरकारले कार्ययोजना अघि बढाएको बताए। सरकारले आगामी दिनमा जनतालाई सर्वसुलभ सेवा पुर्याउने कुरामा ध्यान दिने पनि उनले बताए।