नेपालको खोप अभियानको सफलतामा डब्लुएचओले समेत जिब्रो टोकेको छ : विरोध खतिवडा

हेल्थपोस्ट नेपाल

काठमाडौं–निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपालले खोप अभियानमा पाएको सफलताका कारण नै बालबालिकालाई लगाउने खोप निःशुल्क प्राप्त भएको बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘योभन्दा अगाडिका अभियानमा हामीले पाएको उपलब्धीलाई ध्यान दिएर नेपालजस्ता देशलाई प्रोत्साहन दिनुपर्छ भनेर ८४ लाख डोज खोप डब्लुएचओले उपलब्ध गराएको छ, यसले हाम्रो साढे ६ अर्ब पनि बचाएको छ।’

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्वका धेरै कम मुलुकमा मात्र खोप अभियान सञ्चालन भएको उल्लेख गर्दै त्यसमा नेपाल पनि रहेको उल्लेख गरे।

नेपालमा सबैभन्दा बढी प्रतिशत खोप लगाइएको विषयलाई डब्लुएचओले पनि जिब्रो टोकेको (आश्चर्यको रुपमा लिएको) भन्दै उनले यस्ता देशलाई प्रोत्साहन गर्न भनेर पनि नेपाललाई खोप सहयोग गरेको बताए।

खतिवडाले सुरुमा केही विषय विवादास्पद भएको र कैयौं सामान प्रयोगविहीन भए पनि अहिले आएर खोप, आइसोलेसन, आइसीयू र अक्सिजन अभाव नभएको बताए।

उनले रेबिज खोप यसअघि टेकुमा मात्र उपलब्ध हुने गरेकोमा अब सातै प्रदेशमा उपलब्ध भएको तथा अस्पतालहरु डिजिटल सिस्टममा अगाडि बढेको बताए।

यस्तै, डाइलासिस गर्ने समय नपाएर सोर्सफोर्स लगाउनुपर्ने अवस्था रहेकोमा अब यथेष्ट संख्यामा डाइलासिस मेसिनको व्यवस्था गरिएको बताए। देशभरबाट २५० वटा डाइलासिस मेसिनको माग रहेकोमा १६५ वटा टेण्डरमार्फत् खरिद प्रक्रिया अघि बढाइएको र २ सय वटा भारतीय दूतावासले दिने भनेकाले अब यो समस्या समाधान हुने पनि उनले बताए।

खतिवडाले मुटु उपचार तथा मिर्गौला प्रत्यारोपण सेवा सातै प्रदेशमा लैजाने उल्लेख गर्दै मुटुका लागि पोखरामा जमिनसमेत उपलब्ध भइसकेको बताए। उनले ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि उपयुक्त जमिन खोज्न समितिसमेत गठन गरिसकिएको बताए।

 



Leave a Reply

Your email address will not be published.