पेटमा अड्किएको चम्चा विना शल्यक्रिया निकाले नर्भिकका चिकित्सकले

काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा सन्दीपराज कुँवर नेतृत्वको टिमले विना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेका हुन्।
काठमाडौंकै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र विना कुनै चोट सफलतापूर्वक निकालिएको हो।
चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना भएको डा कुँवरले बताए। यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा कुँवरले निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी विना शल्यक्रिया निकालेका हुन्।
नेपालमा सम्भवत विना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको बताइएकाे छ।
डा कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत विना शल्यक्रिया नै निकाल्दै आएको छ।
आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा विना शल्यक्रिया निकालिएको थियो। बिरामीलाई सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।