म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ स्वास्थ्यकर्मीमाथि मुद्दा

हेल्थपोस्ट नेपाल

काठमाडौं–अर्जेन्टीनी फुटबल स्टार डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ स्वास्थ्यकर्मीमाथि मुद्दा परेको छ। एउटा छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पाएपछि एक न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन्।

अर्जेन्टिनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो।

सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनलाई सुधार भइरहेको थियो।

उनको निधन भएको केही दिनपछि उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु भएको थियो।

गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार ढङ्गले काम गरेको पाएको थियो।

अदालतका अनुसार उक्त प्यानलले भनेको थियो, ‘यदि उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना बाँच्ने राम्रो सम्भावना हुन्थ्यो।’

मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुई नर्स र उनीहरूका प्रमुखसहित छन्।

तर आरोपितहरुले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन्।

अभियोग पुष्टि भएमा प्रत्येकले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समयचाहिँ तय भइसकेको छैन।



Leave a Reply

Your email address will not be published.