५ देखि १२ वर्षमुनिका बालबालिकालाई काेराेनाविरुद्धकाे खोप लगाइँदै

काठमाडाैं- पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइँदैछ। आजबाट २७ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएकाे हाे। त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।
२७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।
पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ।
त्यसैगरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा , कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ।
१३०० खाेप केन्द्र
अभियानअन्तर्गत काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ। देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।
बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत् करिब २२ लाख मात्रा आएको थियो ।
कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरेका छन्। खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ ।
खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको छ। बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ ।
खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन्।
खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ।