डा भम्पा राई जसले ‘राेयल सर्जन’ त्यागेर जीवनभर भुटानी शरणार्थीकै स्वास्थ्य सेवा गरे

हेल्थपोस्ट नेपाल

काठमाडौं–भुटानी राजाका निजी डाक्टर भए पनि सन् १९९१ मा नेपाली भाषीलाई लखेट्दा स्वेच्छाले नेपाल आएका डा भम्पा राईको निधन भएको छ।

राई पेटसम्बन्धी गम्भीर रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौंदिनसम्म थलिएका थिए। पेटको शल्यक्रियापछि उनी पुनः हर्नियाबाट पीडित थिए। ५ दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनको हर्नियाको शल्यक्रिया भएको थियो।

शनिबार दिउँसो मुटुको चाल कम भएपछि उनलाई तत्काल लाइफलाइन अस्पताल भर्ना गरिएको थियो। त्यहाँबाट चिकित्सकले विराटनगर रेफर गरेकोमा आइतबार बिहान निधन भएको हो। उनको आइतबार नै किरात संस्कारअनुसार दमकनजिकैको पाडाजुँगीस्थित रतुवामाइ वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ।

नेपाल आएपछि उनले शरणार्थीहरुको गास, बासका लागि नेपाल सरकार र दातृ निकायको सहयोगका लागि पहल गरेका थिए। नेपाल आएपछि उनले दमकमा स्वास्थ्य क्लिनिक खोलेर भुटानी शरणार्थी र स्थानीयका लागि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका थिए।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘म लखेटिएर, खेदिएर आएको मानिस होइन, मेरो व्यक्तिगत भन्दा पनि मेरो जातिको, मेरो रगतको कुरा थियो। उनीहरु आँखै सामु लखेटिएको अवस्था छ भने म कसरी रोयल सर्जन भनेर बसिरहनु?’

राईलाई दमक नगरपालिकाले निःशुल्क आवासको व्यवस्था गरिदिएको थियो।



Leave a Reply

Your email address will not be published.