हाइपोथाइरोडिजमका बिरामीले जान्नैपर्ने १० कुरा

हाइपोथाइरोडिजम अर्थात् थाइराइड हर्मोन कम भएका र औषधि खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराः

१. हाइपोथाइरोडिजमका बिरामीले खाने औषधि भनेको थाइरोक्जिन हो। यो थाइरोड ग्रन्थीले निकाल्ने एक प्रकारको हर्मोन हो।

२. थाइरोक्जिन औषधि प्रायः कुनै पनि अवस्थामा हानिकारक हुँदैन। नवजात शिशु, गर्भवती, सुत्केरी अवस्थामा विना कुनै संकोच यसको प्रयोग गर्न सकिन्छ। तर मुटुका बिरामीमा भने यसको मात्रा मिलाउनु पर्छ। रगतमा हर्मोनको मात्रा र बिरामीमा देखिएका लक्षणका आधारमा चिकित्सकले औषधिको प्रयोग गर्ने वा नगर्ने निर्णय गर्छन्।

३. गर्भास्थामा थाइरोक्जिनको मात्रा बढाउनुपर्ने हुन सक्छ, त्यसैले गर्भवती, गर्भ राख्ने सोचाइमा भएका र पहिलेदेखि नै औषधि सेवन गरिरहेकाले थाइरोडको जाँच गराउन अति आवस्यक छ।

४. चिकित्सकको सल्लाहविना औषधि सेवन गरिरहेका बिरामीले आफैँ औषधिको मात्रा कम गर्ने वा रोक्ने गर्नुहुँदैन।

५. थाइरोक्जिन औषधि सधै खाली पेटमा अर्थात खाना खानुभन्दा आधादेखि एक घन्टा अघि खानु पर्दछ ।

६. यदि कुनै दिन औषधि खान बिर्सिएको अवस्थामा सम्झिनेबित्तिकै खाली पेटमा अथवा अर्को दिन एकैपटक दुई वटा थाइरोक्जिन ट्याब्लेट खान सकिन्छ।

७. हाइपोथाइरोडिजम एक प्रकारको वंशाणुगत रोग हो र थाइरोइड ग्रन्थीलाई असर गर्ने औषधि सेवन गर्नाले पनि यो रोग निम्त्याउन सक्छ ।

८. हाइपोथाइरोडिजमका मुख्य लक्षणहरु जस्तै तौल बढ्नु, थकान महसुस हुनु, निन्द्रा धेरै लाग्नु, महिनावारीमा गडबडी हुनु, कपाल झर्नु, कब्जियत हुनु, हातखुट्टा सुन्निनु, गर्भ तुहिनु वा गर्भ नरहनु आदि हुन।

९. हाइपोथाइरोडिजमका बिरामीले खानहुने र खान नहुने भन्ने केही हुँदैन। आयोडिनयुक्त खानेकुराको बढी प्रयोग गर्ने र आयोडिनको पाचन प्रक्रियामा असर पु¥याउने खानेकुरा जस्तै काउलीको तरकारी, सोयाबिन आदि कम प्रयोग गर्नुपर्दछ र जंक फुड र मैदाबाट बनेका खानेकुराको पनि कम प्रयोग गर्नुपर्दछ ।

१०. चिकित्सकको सल्लाह अनुसार थाइरोइडको औषधि खाइरहेका बिरामीले थाइरोइडको निम्ति रगत परीक्षण गर्दा त्यसदिनको औषधि खानुअघि नै रगत जाँचको लागि दिनु पर्दछ। औषधि खाइरहेका बिरामीले शरीरमा टीएसएचको मात्रा सामान्य नहुँदासम्म हरेक ६ अथवा ८ हप्तामा जाँच गर्नुपर्दछ।

डडेलधुरा अस्पताल, डडेल्धुरा  


Leave a Reply

Your email address will not be published.