किन देखिन्छ नवजात शिशुमा पहेँलोपन? के हुन् यसका लक्षण र उपचार?

नवजात शिशुमा पहेँलोपन (नियोनेटल जण्डिस) बढी देखिने समस्या हो। ३७ हप्ताको अवधि पुगि जन्मेका ८५ प्रतिशत शिशुमा देखिन्छ भने त्यसअघि नै जन्मेका प्रायः सबै नवजात शिशुमा देखिन्छ।

नवजात शिशुमा देखिने जण्डिस अमलपित्त (बिलिरुबिन) को मात्रा रगतमा बढी हुनु हो। धेरैजसो नवजात शिशुमा देखिने पहेँलोपन सामान्य हुन्छ र उपचार चाहिँदैन। तर करिब ५ देखि १० प्रतिशत नवजात शिशुमा जण्डिस असामान्य हुन्छ र उपचार चाहिन्छ।

प्रकार
१) सामान्य पहेँलोपन (फिजियोलोजिकल जण्डिस)

२) असामान्य पहेँलोपन (प्याथोलोजिकल जण्डिस)

३) स्तनपान पहेँलोपन (ब्रेस्ट फिडिङ जण्डिस)

सामान्य पहेँलाेपन 
यो शिशु जन्मेको २४ देखि ७२ घण्टामा देखिन्छ।

यो शिशुको कलेजो पूर्ण रुपमा परिपक्व नभएका कारण देखिन्छ।

यो तेस्रो दिनमा उच्चतम विन्दुमा पुग्छ र त्यसपछि क्रमशः घट्दै जान्छ ।

३७ हप्ता पुगेको शिशुमा सामान्य अवस्थामा पुग्न ७ दिन लाग्छ भने ३७ हप्ता नपुगेर जन्मेका शिशुमा १४ दिनसम्म लाग्न सक्छ ।

असामान्य पहेँलोपन
यो शिशु जन्मेको २४ घण्टाभित्र देखिन्छ।

रगतमा अमलपित्त (बिलिरुबिन) को मात्रा >15mg/dl भन्दा धैरै हुन्छ।

अमलपित्तको मात्रा प्रत्येक दिन >5mg/dl बढ्दै जान्छ।

पहेँलोपन २ हप्ताभन्दा बढी समयसम्म देखिन्छ।

रगतमा अमलपित्तको मात्रा धेरै भएमा मस्तिष्कमा नराम्रो असर पुर्‍याउन सक्छ। यसले दिमागमा रहेको आँखा र कानलाई सञ्चालन गर्ने मुख्य भागमा असर गर्छ।त्यस कारण नवजात शिशुलाई ७२ घण्टाभित्र कम्तिमा एकपटक भए पनि विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

समयमा उपचार नगरिएमा हुन सक्ने जटिलताः
अन्धोपन
बहिरोपन
पक्षघात (लुलोपन, मानसिक असन्तुलन)

उपचार
नवजात शिशुमा देखिने पहेँलोपन हेरेर मात्र उपचारको आवश्यकता पर्छ या पर्दैन भन्न सकिन्न। तसर्थ यसका लागि स्वास्थ्य केन्द्रमा गई रगतमा कमलपित्तको मात्रा हेरे उपचारको आवश्यकता पर्ने वा नपर्ने निर्णय लिइन्छ ।

उपचार विधिहरु
फोटो थेरापी
एक्स्चेन्ज ट्रान्सफ्यूजन
इम्यूग्लोविन

निवारणका उपायहरु
१) गर्भ अवस्थामा आमाको रक्तसमूह र अन्य आवश्यक परीक्षण र राम्रो हेरचाह गर्नुपर्दछ ।

२) नवजात शिशुलाई छिटो पूर्ण रुपमा स्तनपान गराउनुपर्छ।

३) नवजात शिशुको अभिभावकलाई पहेँलाेपन घुँडाभन्दामुनि, कुहिनोभन्दा मुनि वा १५ दिनभन्दा बढी रहेमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा बालरोग विशेषज्ञसँग सम्पर्क राखी आवश्यक उपचार गर्नुपर्दछ ।

४) उच्च जोखिम भएका नवजात शिशुहरु
३७ हप्ता नपुगि जन्मेका शिशुहरु
आमाको रक्त समूह Rh-ve (Negative) भएका शिशुहरु
बच्चाको टाउकोमा रगतजमेको भएमा (Cephalohematoma)
नवजात शिशुका अभिभावक वा परिवारका अन्य सदस्यहरुमा कमलपित्त (जण्डिस) को समस्या भएमा यी बच्चा अस्पतालबाट डिस्चार्ज भएको २–३ दिनमा देखाउन आउनुपर्छ यसो गरेमा यसबाट उत्पन्न जटिलतालाई समयमै न्यून गर्न सकिन्छ ।

५) कमलपित्तको मात्रा धेरै भएका शिशुहरुलाई भविष्यमा गएर आँखा, कान तथा मानसिक विकासको समय अनुसार परीक्षण गर्नुपर्दछ।

डा साह बालराेग विशेषज्ञ हुन्।



Leave a Reply

Your email address will not be published.