यस्ता हुन्छन् बालबालिकामा देखिने मानसिक समस्याका लक्षण

साधारणतया युवा अवस्थाका मानिसमा मात्र मानसिक समस्या हुन्छ भन्ने हाम्रो बुझाइ रहँदै आएको छ। तर, मानसिक समस्या बाल्यकालदेखि नै सुरु हुने गर्छ। नेपालमा बालबालिकामा पनि मानसिक समस्या बिस्तारै बढ्दै गएको छ।

बालबालिकामा पनि युवावस्थाका मानिसमा जस्तै मानसिक समस्या हुन्छ । तर, त्यसको लक्षणचाहिँ फरक–फरक हुने गर्दछ । बालबालिकामा कस्तो लक्षण आएमा मानसिक समस्या उत्पन्न हुन्छ भन्ने बुझ्नु जरुरी छ ।

प्रमुख रूपमा बालबालिकामा हुने मानसिक समस्याका लक्षणहरू अभिभावकले नै पहिचान गर्न सक्नुपर्छ । अभिभावकले मानसिक समस्याबारे जानकारी लिएअनुसार त्यसअनुरूप बालबालिकाले उपचार पाएको अवस्था भने छैन । अभिभावकलाई बालबालिकाको मानसिक समस्याबारे थाहा नहुनुको प्रमुख कारण त्यससम्बन्धी लक्षण नै जानकारी नहुनु नै हो ।

बालबालिकामा निरन्तर रूपमा चिन्ताग्रस्त भएका कारण मानसिक समस्या देखापर्ने गर्दछ । चिन्ताले गर्दा बालबालिकाले एकोहोरो किसिमको बानी–व्यवहार देखाउन थाल्छन् । डर–त्रास मानेको अवस्थाले पनि बालबालिकामा मानसिक समस्या देखिन थाल्छन् ।

एटेसियन डिफिसिट हाइप्रोरियाट्रिक डिसअर्डर भएका बच्चा एकदमै चकचके हुन्छन्, एकै ठाउँमा ध्यान दिन चलेको चल्यै गर्ने खाले प्रवृत्तिका हुन्छन् । कुनै चलाख बच्चा नर्मल रूपमा चकचके हुन्छन् । कुन बच्चालाई हाइप्रोरियाट्रिक डिसअर्डर भएको हो र कुन बच्चा चलाखीका कारण चकचके भएको हो भनेर पत्ता लगाउनका लागि उनीहरूबीचको मुख्य भिन्नता वा पोइन्ट भनेको हाइप्रोरियाट्रिक डिसअर्डर भएका बच्चामा सोच्ने क्षमता र सम्झने शक्ति कम रहेको हुन्छ ।

अल्टिजम डिसअर्डर भएका बच्चा नर्मल देखिए पनि साथीभाइसँग संवाद गर्न सक्दैनन् । कुराकानी गर्ने, साथीभाइसँग धुलमिल हुनेभन्दा पनि एकोहोरो बन्ने, एउटा वस्तुमा मात्रै ध्यान लगाउनेजस्ता प्रवृत्ति देखाउने गर्छन् । त्यसैगरी, इटिङ डिसअर्डर भएका बालबालिकामा मुख्यतया खानपानसम्बन्धी कमजोरी देखिन्छ । विशेषगरी, १२ वर्षदेखि १८ वर्षसम्मको बालिकामा यो प्रवृत्ति देखिने गर्छ । उनीहरू खाना खान डराउने वा खाना नखाने गर्छन् । यस्ता बच्चामा खाना धेरै खाएपछि मोटाउँछु भन्नेकिसिमको डर उत्पन्न हुन्छ । डरका कारण खाना नखाएर दुब्लो–पातलो बनेर जाने अवस्था आउँछ । यदि अभिभावकको करकापले खाएको अवस्था भए पनि आफैँले अम्लो मुखमा हालेर वान्ता गर्छन् । यस्तो अवस्थामा खानै नखाएका कारण बालबालिकाको मृत्यु हुने अवस्थासमेत निम्तिन सक्छ ।

मुड डिसअर्डरको अवस्थामा बालबालिका कहिले अचानक धैरै नै खुसी भएर हिँड्ने र कहिले दुःखी भएर बस्ने गर्छन् । कसैसँग पनि कुराकानी नगरेर बस्ने हुन्छन् ।
त्यसैगरी, स्केजियोफेनिया भएका बालबालिकाले विभिन्नप्रकारका जीवनशैलीका नक्कल गर्ने गर्छन्, जुन वास्तविक हुँदैन । कहिलेकाहीँ बच्चाले अर्को मानिसजस्तो बानी–व्यवहार देखाउँछन् । स्केजियोफेनिया भएको एउटा बच्चाले ३० जना मानिसको जीवनशैलीको नक्कल गर्ने गरेको पाइन्छ ।

सांकेतिक लक्षण
– बालबालिका अचानक खुसी हुने, कहिले दुःखी हुने अवस्था
– दुःखी भएको अवस्थामा भावनामा बगिरहने
– बानी–व्यवहारमा परिवर्तन
– पढाइमा ध्यान नदिने
– अचानक तौल घट्ने तथा मोटाएर आउने
– भोक नलाग्ने तथा लगातार रूपमा बान्ता आउने
– पेट दुख्ने
– आफैँले आफैँलाई दण्ड दिने वा अरू मानिसलाई कुटपिट गर्ने
– लागुपदार्थको कुलतमा लाग्ने

बच्चाअवस्थामा मानिसक अवस्था पत्ता लगाउन उसको व्यवहारबाट हेर्नुपर्छ । नर्मल व्यवहार भएको अवस्थामा केही परिवर्तन आउन थालेको अवस्थामा मानसिक समस्या हो कि भनेर बुझ्नु जरुरी छ । यस्तो लक्षण देखिएको अवस्थामा साइकोलोजिस्टलाई देखाउनुपर्छ ।
मानसिक समस्याको उपचार त्यति सजिलो हुँदैन । यसका लागि अभिभावक, साइकोलोजिस्ट, डाक्टर, नर्सको सहभागिता आवश्यक हुन्छ ।

नेपालमा मानसिक रोगको उपचारका लागि बिरामी सिरियस भएको अवस्थामा मात्रै अस्पताल ल्याउने गरिन्छ । बालबालिकाका लागि मात्र भनेर उपचारकेन्द्र खोलिएको छैन । हाल आएर टिचिङ अस्पताल, कान्ति बाल अस्पतालमा बालबालिका गाइडेन्स क्लिनिङ भनेर मानसिक रोगसम्बन्धी उपचार गर्ने गरिएको छ ।

उपचारपद्धति
मुख्यतया साइकोथेरापीको माध्यमबाट साइकोलोजिस्टले बिरामीसँगको कुराकानीका आधारमा यसको उपचार गरिन्छ । त्यसैगरी, औषधोपचार विधिमा डिप्रेसन, साइकोसिसलगायत रोगका नयाँ–नयाँ औषधि उपलब्ध छन्, जुन बच्चामा पनि प्रयोग गर्न सकिन्छ । बाल्यावस्थामै मानसिक समस्याको अवस्था पत्ता लाग्यो भने छिट्टै रोकथाम गर्न सकिन्छ । मानसिक रोग परिवारभित्र कसैलाई भयो भने पारिवारिक वातावरणमै असर पुग्छ । त्यसकिसिमको शंका मात्र भएको खण्डमा पनि डाक्टरलाई देखाउनु नै महत्वपूर्ण काम हो । तर, मानसिक समस्या भएर अस्पताल गएको खण्डमा पागल भन्ने दृष्किोणले हेरिन्छ भनेर रोग पालेर घरमा बस्ने प्रवृत्ति बढ्दो छ ।

हामीले हाल बालबालिकाको उपचार गर्दा पहिले–पहिले रोगमा मात्र केन्द्रित रहेर उपचार गरिन्थो । तर, हाल केही स्वास्थ्यस्थित मात्रै नभएर बच्चाको बानी–व्यवहार पनि हेर्ने गरिन्छ । उदाहरणका लागि बालबालिकाको स्वास्थ्यपरीक्षण गर्दा चेकजाँच गर्न नमान्ने, रोइरहने र नर्मल बच्चाको तुलनामा व्यवहार फरक पाएको अवस्थामा यो बच्चामा मानसिक समस्या छ कि भनेर जानकरी लिन्छौँ र अभिभावकलाई सोहीअनुसारको सल्लाह दिइरहेका हुन्छौँ ।

पुनप्रकाशित (कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published.