पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफको अवस्था गम्भीर

हेल्थपोस्ट नेपाल

इस्लामावाद–तीन सातादेखि दुबईस्थित अस्पतालमा उपचाररत पाकिस्तानी पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको अवस्था गम्भीर भएको छ। सुविधासम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको परिवारका सदस्यहरूले बताएका छन्।

अधिकारीहरुका अनुसार उनको अवस्थामा सुधार आउने कुनै सम्भावना छैन भने शरीरका धेरै अंगमा समस्या उत्पन्न भएको छ।

मुसर्रफकाे ट्वीटर ह्याण्डलमै उनका परिवारजनका तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ।

उनको अवस्थामा सुधार होस् भनेर आफूहरुले प्रार्थना गरिरहेको पनि आफन्तले बताएका छन्।

ट्वीटरमा लेखिएको छ, ‘उहाँलाई भेन्टिलेटरमा राखिएको होइन। अवस्था गम्भीर छ। तत्काल सुधार हुने सम्भावना पनि छैन। उहाँका अधिकांश अंगले काम गरेका छैनन्। त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ।’

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका मुसर्रफको जन्म भने भारतको नयाँदिल्लीमा भएको थियो। सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए।



Leave a Reply

Your email address will not be published.