भारतमा दैनिक कोरोना संक्रमणमा ४० प्रतिशत वृद्धि, थपिए ७२४० संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि हुन थालेको छ। पछिल्लो २४ घण्टामा ७ हजार २४० जनामा संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ४० प्रतिशत बढी हो।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ हजार ४९८ पुगेको छ। हाल भारतमा संक्रमण दर १.६७ छ। यो अवधिमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। २४ घण्टा अवधिमा ३ हजार ३४५ जना निको भएका छन्। हाल संक्रमणमुक्त दर ९८.७२ रहेको बताइएको छ।

भारतमा अहिले महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ। कूल संक्रमितमध्ये महाराष्ट्रका मात्रै २ हजार ७०१ छन् भने सक्रिय संक्रमित १० हजार छ। यसअघि महाराष्ट्रमा गत १७ फेब्रुअरीमा २ हजार ७८७ संक्रमित थपिएका थिए। त्यसयता विस्तारै कम हुँदै गएकोमा अहिले एक्कासी बढ्न थालेको हो।

महाराष्ट्रमा बालबालिका बढी प्रभावित बनेका छन्। तथ्यांकअनुसार १३ मेदेखि ७ जुनसम्म कूल १० हजार ४५४ संक्रमितमध्ये बालबालिकाको संख्या ९६३ रहेको बताइएको छ। विज्ञहरुले भने बालबालिकाहरु ४ दिनभित्रमा निको भएकाले चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताएको छ। तर बालबालिकालाई कोरोनाबाट बचाउन सतर्कता आवश्यक रहेको उनीहरुको भनाइ छ।

मुम्बईमा कोरोना संक्रमणको दर ६० प्रतिशत वृद्धि भएको छ।

यसका अलावा कर्नाटक, तमिलनाडु र मिजोरममा कोरोना संक्रमणमा वृद्धि भएको तथ्यांक छ।



Leave a Reply

Your email address will not be published.