हेटौंडा अस्पतालको सेवासुविधा सुधार गर्न कांग्रेस हेटौंडा उपमहानगर समितिको माग

काठमाडौं–नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडा अस्पतालको सेवासुविधा तत्काल सुधार गर्न माग गरेको छ। समितिको टोलीले बिहीबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालको सेवा सुविधा सुधारका लागि माग गरेको हो।
समितिले अस्पतालको नियमित सरसफाई गर्नुपर्ने, टिकट तथा औषधि लिने काउन्टर संख्या वृद्धि गर्नुपर्ने, सरकारले निःशुल्क गरेका सबै औषधि सहज उपलब्ध हुनुपर्ने, अस्पतालमा चौबिसै घण्टा चिकित्सक उपलब्ध हुनुपर्ने र प्याथोलोजीको परीक्षण क्षमता अभिवृद्धि गर्नुपर्नेलगायतका माग गरेको हो।
जिल्लाकै एकमात्र सरकारी अस्पतालले दिने सेवामा जनविश्वास बढाउँदै सेवाको स्तरोन्नति गर्ने सवालमा अस्पताललाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको कांग्रेस हेटौडा समितिले जनाएको छ।