कोरोनाः भारतको महाराष्ट्र र केरल चौथो लहरको ‘इपिसेन्टर’ बन्नसक्ने, विज्ञ भन्छन्–चिन्ता गर्नुपर्ने अवस्था छैन

हेल्थपोस्ट नेपाल

काठमाडौं–लामो समय स्थिर रहे पनि भारतको मुम्बईमा केही दिनयता कोरोना संक्रमणमा तिब्रता आएको छ। मुम्बईमा ५ दिनको अवधिमा दैनिक कोरोना संक्रमण दर ५० प्रतिशतले वृद्धि भएको छ।

अघिल्ला कोरोना महामारीका बेला ‘इपिसेन्टर’ बनेको मुम्बई पुनः चौथो महामारीको केन्द्र बन्ने आशंका गर्न थालिएको छ।

जुन महिनाको पहिलो ५ दिनमा देखिएको संक्रमणको कूल संख्या मार्चको तुलनामा दोब्बर भएको बताइएको छ। महाराष्ट्रका वातावरण एवं पर्यटनमन्त्री आदित्य ठाकुरले राज्यमा सम्भवतः कोरोनाको चौथो लहर सुरुवात भइसकेको बताए। तर कोरोनाका कारण हुने मृत्युमा वृद्धि नभएकाले चिन्ता गर्नुपर्ने अवस्था नभएको बताए।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना बढेका क्षेत्रमा मास्क अनिवार्य लगाउनुपर्ने बताएका छन्। राज्यको कोभिड टास्कफोर्सले भीडभाड हुने क्षेत्र, बस, रेल, स्कुलमा मास्क लगाउन र कोभिड नियमको पालना गर्न आग्रह गरिएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार २१७ संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा ५.८ प्रतिशतले वृद्धि हो। हाल भारतमा सक्रिय संक्रमित २४ हजार ५२ छन्। महाराष्ट्रपछि बेंगलुरुमा पनि कोरोना संक्रमण वृद्धि भएपछि मास्क अनिवार्य गरिएको छ। राज्यको स्वास्थ्य विभागका अनुसार बेंगलुरुमा २४ घण्टामा १ सय जनामा संक्रमण पुष्टि भएको छ।

केरलमा पनि एक सातामा ८ हजार संक्रमित थपिएका छन्, जो अघिल्लो साताको तुलनामा ६५ प्रतिशतले वृद्धि हो। दिल्लीमा ३४३ जना थपिएका छन्।

एम्सको सेन्टर फर कम्युनिटी मेडिसिन विभागका प्राध्यापक डा सन्जय रायले आरएनए भाइरसमा म्युटेसन भइरहने भएकाले अब कोरोना संक्रमितको संख्या वृद्धिले कुनै अर्थ नराख्ने बताएका छन्। यस्तो भाइरस तत्काल समाप्त नहुने र उतारचढाव आइरहने भएकाले अब सामान्य जनजीवनतर्फ फर्कनुपर्ने उनको भनाइ छ। उनले तेस्रो लहरको तुलनामा मानिसहरुमा प्रतिरक्षा प्रणाली विकसित भइसकेको पनि बताए।



Leave a Reply

Your email address will not be published.