शिक्षण अस्पताल महाराजगञ्जमा पहिलाे पटक मेडिकल रेकर्ड लाइब्रेरी र अध्ययन कक्ष, रोग अनुसन्धान र गुणस्तरीय उपचारमा उपयाेगी

काठमाडौं–बिरामीलाई स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय उपचारका लागि अध्ययन, अनुसन्धानमा सघाउ पुर्‍याउने उद्देश्यले शिक्षण अस्पताल महाराजगञ्जले मेडिकल रेकर्ड लाइब्रेरी र अध्ययन कक्ष सुरु गरेको छ।

अस्पतालका मेडिकल रेकर्डर रामकुमार कार्कीको पहलमा पहिलाेपटक मेडिकल रेकर्ड लाइब्रेरी सुरु गरिएको हो। चिकित्सक, चिकित्साशास्त्रका विद्यार्थी, स्वास्थ्य अनुसन्धानकर्मी तथा स्वास्थ्यकर्मीलगायतले उक्त लाइब्रेरीमा बसेर विभिन्न रोगबारे अध्ययन गर्न सक्नेछन्।

‘बिरामीले गुणस्तरीय उपचार पाउन् र चिकित्सकले पनि रोग तथा त्यसको उपचार प्रक्रियाको हिस्ट्री थाहा पाउन् भन्ने उद्देश्यले यो लाइब्रेरी सुरु गरिएको हो,’ मेडिकल रेकर्ड शाखाका प्रमुख कार्कीले भने।

यसले उपचारमा प्रक्रियामा क्रममा हुने त्रुटि र गल्ती सपार्न र अर्कोपटक सचेत हुन मद्दत पुग्ने उनको भनाई छ। ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि गल्ती भयो भने सपार्न पाइन्छ, तर तपाईंले डकुमेन्टेसन गर्नुस् भन्छ,’ उनले भने, ‘यस्ता मेडिकल फाइल अध्ययनले थोरै अवधिको र दीर्घकालीन रुपमा योजना बनाउन सजिलो हुन्छ।’

शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल रेकर्ड शाखाका प्रमुख रामकुमार कार्की।

के गर्न सकिन्छ ‘स्टडी रुम’ मा?
भर्ना भएका बिरामीका फाइललाई व्यवस्थित रुपमा राखेर लाइब्रेरी बनाइएको हो।

उदाहरणका लागि कुनै बिरामीको मृत्यु क्यान्सर रोगले भयो भने सम्बन्धित चिकित्सक, यसका अनुसन्धानकर्ता तथा विद्यार्थीले त्यो ‘केस’ अध्ययन गर्न सक्नेछन्। बिरामीको पृष्ठभूमि, उपचार प्रक्रिया, चलाइएका औषधिलगायतका विषयमा विस्तृत जानकारी हुने भएकाले त्यसले अध्ययनमा संलग्नलाई सजिलो बनाउने प्रमुख कार्कीले बताए।

उपचारका क्रममा कुनै बिरामीको मृत्यु हुँदा स्वास्थ्य संस्थामाथि तोडफोड, उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण, विरोध प्रदर्शन गर्ने गरिन्छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीमा त्रासको अवस्था सिर्जना हुने गरेकोमा सुरक्षासम्बन्धी ऐन आएको छ। यसले उनीहरुलाई केही ढुक्क बनाएको छ।

यस्तो अवस्थामा चिकित्सकले यस्ता मेडिकल रेकर्ड देखाएर आफ्नो प्रतिरक्षा गर्न सक्ने कार्कीको भनाइ छ। ‘डाक्टरले लापरवाही गरेर बिरामीको मृत्यु भएको भनेर स्वास्थ्य संस्था तोडफोड गर्ने गरिएको छ, तर रेकर्ड सिस्टम राम्रो नभएर यस्तो समस्या सिर्जना भएको हो,’ उनले भने, ‘मेडिकल रेकर्ड व्यवस्थित हुँदा त्यसलाई देखाएर बिरामी पक्षको चित्त बुझाउन सकिन्छ, आफूले विगतमा गरेका उपचार प्रक्रिया प्रमाणका रुपमा देखाउन सकिन्छ। यसले यस्ता घटना पनि कम हुने हुन्छ।’

कानुनमा भए पनि व्यवहारमा आएन
मेडिकल रेकर्डलाई व्यवस्थित गर्नुपर्ने विषयमा स्वास्थ्य सेवा ऐन, स्वास्थ्य नियमावली, डब्लुएचओको गाइडलाइन्स सबैतिर उल्लेख गरिएको छ। तर अहिलेसम्म कति जनाले उपचार पाए भन्ने खालको संख्यात्मक रेकर्डमा मात्र स्वास्थ्य संस्थाको मेडिकल रेकर्ड सीमित हुने गरेको छ।

यसले स्वास्थ्यका अनुसन्धान र गुणस्तरीय उपचार सेवामा असर पारिरहेको उनको भनाइ छ। ‘डाक्टरलाई जर्नल निकाल्नुपर्‍यो भने मेडिकल फाइल खोज्ने चलन छ, तर रोगको अनुसन्धानका लागि मेडिकल रेकर्ड प्रयोग गर्ने अवधारणा बसिसकेको छैन,’ उनी भन्छन्, ‘यो महत्वपूर्ण हो भन्नेमा सबै सहमत छन् तर यसलाई व्यवस्थित रुपमा अगाडि बढाउन अस्पताल प्रशासनले ध्यान दिएको छैन।’

मेडिकल रेकर्ड अध्ययनका आधारमा दैनिक कति जनाको, कस्ता बिराीको र कसरी उपचार गर्ने क्षमता अस्पतालको छ भनेर पहिचान गर्न सकिने र त्यसका आधारमा गुणस्तरीय उपचार गर्न सकिने पनि कार्कीले बताए।

‘आफ्नो चासो र यस क्षेत्रमा लामो समय काम गरेको हिसाबले मैले सुरुवातमात्र गरेको हुँ, थप अगाडि बढाउने काम अस्पताल प्रशासनको हो,’ उनी भन्छन्।



Leave a Reply

Your email address will not be published.