काठमाडौंमा लामो समयदेखि थुप्रिएको फोहोरले महामारी निम्त्याउने जनस्वास्थ्यविद्को चेतावनी

‘झाडाबान्ता, खाद्य विषाक्तता, टाइफाइड, हैजा, आऊँ, हेपाटाइटिस, मलेरिया, डेंगुका महामारी फैलन सक्छन्’

हेल्थपोस्ट नेपाल

काठमाडौं–जनस्वास्थ्यविद् डा रवीन्द्र समिरले काठमाडौंका सडकमा लामो समयदेखि थुप्रिएका फोहोरले महामारी फैलाउन सक्ने सक्ने चेतावनी दिएका छन्।

फोहोरका कारण झाडाबान्ता, खाद्य विषाक्तता, टाइफाइड, हैजा, आऊँ, हेपाटाइटिस, एलर्जी, मानसिक दिक्दारी, मलेरिया, डेंगु गराउने लामखुट्टेको प्रकोपजस्ता थुप्रै समस्या महामारी बनेर आए भने त्यसको जिम्मेवारी ७ दिन पुगेको मेयरले लिने कि सरकारले लिने भनेर डा समिरले प्रश्न गरेका छन्।

उनले राजनीतिक दाउपेच छाडेर तथा सबै मिलेर एक पटक काठमाडौंलाई फोहोरमुक्त बनाउन पनि आग्रह गरेका छन्।

डा समिरले मनसुन भित्रँदै गरेको अवस्थामा फोहोरबाट बगेको विषाक्त पानी घरघर पुग्ने अवस्था असाधारण भएको भन्दै यसलाई सरकारका सबै निकाय मिलेर समाधान गर्नुपर्ने बताएका छन्।

उनले प्रश्न गरेका छन्, ‘पर्यटकले के भनेका होलान्? के हामी कहिल्यै नसुध्रिने ? मैले बालेनको बचावट गरेको होइन, जनस्वास्थ्यको चिन्ता व्यक्त गरेको हुँ, यदि सरकारले सहयोग नगर्ने, पार्टीहरुले भड्काउने र फोहोरका कारण सरुवा रोगको बिगबिगी बढ्ने हो भने हामी युवाले के गर्न सकिन्छ भनेर विकल्प सोच्नुपर्ने बेला आइसक्यो।’

उनले सडकमा असरल्ल फोहोरलाई गन्ध हटाउने, किटाणु मार्ने औषधि छर्किने, ठूला खाल्डा खनेर पुर्ने, सुरक्षित रुपमा जलाउने वा के उपाय हुन्छ मन्थन गर्न आग्रह गरेका छन्।

डा समिरले भनेका छन्, ‘बालेनले मेयरको रुपमा सपथग्रहण गरेको आज एकहप्ता भयो, महिना दिनदेखि काठमाडौंको फोहोर उठेको छैन, फोहोर व्यवस्थापन गर्ने प्रमुख दायित्व सरकारको हो, सरकार तथा पार्टीहरुले बालेनलाई असफल बनाउने नाममा फोहोरमाथि राजनीति गरेको आम जनताले बुझेका छन्, यदि सरकार र पार्टीहरु सहयोगात्मक नहुने हो भने आगामी प्रदेश तथा संसदीय चुनावमा सयौं बालेनहरु जन्मिनेछन्, बालेनले रातदिन कोसिस गरेको तर सहयोग नपाएको आम बुझाइ आक्रोशमा परिणत हुँदैछ।’

 



Leave a Reply

Your email address will not be published.