अमेरिकामा ‘बेबी फर्मुला’ को व्यापक अभाव, सेना परिचालन गरेर आयात गर्ने बाइडेनको प्रतिबद्धता

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकामा शिशु आहार अर्थात् ‘बेबी फर्मुला’ को भारी संकट देखा परेको छ। यो संकटलाई प्रशासनले तत्काल समाधान नगरे अवस्था झन् बिग्रने चेतावनी विज्ञहरुले दिएका छन्।

खुद्रा एवं अनलाइन बिक्रेताहरुले अधिकांश स्थानमा ‘आउट अफ स्टक’ को सूचना टाँसेका छन्। गत १ जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ५ वटा बेबी फुड कम्पनीका अधिकारीहरुसँग बैठक बसेर बेबी फर्मुलाको आपूर्ति सुनिश्चित गर्ने घोषणा गरेका थिए।

अमेरिकामा एबोट ल्याबोरेटोरिजले गत फेब्रुअरीमा बेबी फर्मुला प्लान्ट बन्द भएको घोषणा गरेपछि देशभर यसको कमी भएको हो। सम्पर्कको माध्यमबाट सर्ने संक्रमणले शिशु आहार प्रभावित नहोस् भन्दै कम्पनीले उत्पादनमा कमी ल्याएको थियो।

राष्ट्रपति बाइडेनले विश्वभरबाट बेबी फर्मुला आयात तीब्र पार्न सेना परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। तर यसपछि पनि बेबी फर्मुलाको संकट भने कायमै छ। १ जुनसम्मै राष्ट्रपति बाइडेन अप्रिलदेखि नै बेबी फर्मुलाको कमी हुन थालेको विषयमा अनभिज्ञ रहेको भन्दै आलोचना गरिएको छ। प्रमुख कम्पनीले उत्पादन कम गरेको थाहा हुँदाहुँदै पनि संकटलाई दुई महिनासम्म बढ्न दिएको आरोप बाइडेनमाथि लगाइएको छ।

अमेरिकी रिटेल सफ्टवेयर कम्पनी डाटासेम्बलका अनुसार एटलान्टा राज्यमा बेबी फर्मुलाको आपूर्ति करिब ७५ प्रतिशत आउटअफ स्टक छ भने ह्युस्टनमा ९० प्रतिशत। इण्डियानापोलिसमा सबैभन्दा कम ४८ प्रतिशत र शिकागोमा ५७ प्रतिशत आउटअफ स्टक छ। कम्पनीका प्रवक्ताले यस्ता विश्लेषणबाट अमेरिकामा लगातार बेबी फर्मुलाको स्टकमा कमी आइरहेको जनाएका छन्। अमेजनले अर्डरअनुसार निकै कममात्र आपूर्ति गरिरहेको छ। केही अनलाइन कम्पनीले भने महंगोमा बेचिरहेको बताइएको छ।

ह्वाइटहाउसले आगामी तीन साताभित्र बेलायतबाट ४० लाख बेबी फर्मुला आउने जनाएको छ। युनाइटेड एयरलाइन्सले लण्डनको हिथ्रो एयरपोर्टबाट देशभरका सबै स्टोरमा फर्मुला निःशुल्क पुर्‍याउन सहमति जनाएको छ। यस्तै, आगामी ९ र ११ जुनमा अस्ट्रेलियाको मेलबर्नबाट पेन्सिलभेनिया र क्यालिफोर्नियाका लागि करिब ४६ लाख बेबी फर्मुलाको बोत्तल ल्याउने व्यवस्था गरिएको पनि ह्वाइटहाउसले जनाएको छ। सरकारले फर्मुला आयात गर्नका लागि भएका कानुन पनि खुकुलो बनाएको छ।



Leave a Reply

Your email address will not be published.