रगतको भारी मूल्यवृद्धिप्रति रक्तदाता समाजको आपत्ति, कति बढ्यो?

हेल्थपोस्ट नेपाल

काठमाडौं–रक्तदाताबाट निःशुल्क रुपमा उपलब्ध हुँदै आएको रगतमा सरकारले भारी मूल्य वृद्धि गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे जानकारीसहित पत्र पठाउँदै रगतमा मूल्य वृद्धि गरेको जनाएको हो। प्रयोगशालाले प्रतियुनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० रुपैयाँसम्म कायम गर्न सकिने जनाएको थियो। यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो।

प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ।

रक्तदताले निःशुल्क रुपमा दिने रगतमा सरकारले भारी मूल्य वृद्धि गरेपछि स्वयंसेवी रक्तदाता समाजले विरोध गरेको छ। समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले केही समयअघि निःशुल्क रुपमा रगत उपलब्ध गराउनेसम्बन्धी आफ्ना माग सम्बोधन गर्न प्रयोगशाला निर्देशक रुना झाले प्रतिबद्धता जनाएकोमा अहिले आएर एक्कासी मूल्य बढ्दा आफूहरु स्तब्ध भएको बताए।

समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ।



Leave a Reply

Your email address will not be published.