५ देखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै असार ९ देखि खोप अभियान सञ्चालन हुने

काठमाडौं–सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यो उमेर समूहका ३९ लाख बालबालिकालाई सरकारले फाइजर खोप दिन लागेको हो।
सरकारले खोप अभियान दुई चरणमा सञ्चालन गर्नेछ। पहिलो चरण असार ९ देखि १५ गतेसम्म देशका २७ वटा जिल्लामा सञ्चालन हुनेछ। पहिलो चरणमा पहिलो डोज खोप लिएकाहरुलाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ।
यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले देशैभरका विद्यालयमा खोप केन्द्र तोकी सञ्चालन हुने र यो खोप प्रभावकारी रहेको जनाएका छन्। खोपको खरिद प्रक्रियाका लागि ६ अर्बभन्दा बढी लाग्ने भएकोमा कोभाक्स सुविधामार्फत् खोप ल्याइएको खतिवडाले बताएका छन्।