चौतर्फी आलोचनापछि अर्थमन्त्रीले भने–स्वास्थ्य बिमा कुनै कम्पनीलाई दिन खोजिएको होइन

काठमाडौं–चौतर्फी आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने मनसाय नभएको स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षको बजेटमा शर्माले स्वास्थ्य बिमा कार्यक्रमलाई दीगो बनाउन बिमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिने उल्लेख गरेका थिए। उक्त घोषणाको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, स्वास्थ्य बिमा बोर्ड, पूर्व स्वास्थ्यमन्त्री तथा सत्तारुढ दलकै सांसदहरुले तीव्र विरोध गरेका थिए।
शुक्रबार बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई दिइएको छैन, दिन खोजिएको पनि होइन। स्वास्थ्य बिमा अहिले जहाँ छ, त्यहीँबाट परिचालन भइरहेको छ।’
तर, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न अध्ययन भने जरुरी रहेको उनको भनाइ छ। ‘अध्ययन गर्ने विषय उठेकाले अध्ययन गरेर हेरौं भनिएकोमात्रै हो। त्योभन्दा यो राम्रो कि योभन्दा त्यो राम्रो भन्न त मिल्छ नि,’ उनले भने। उनले बोर्ड जहाँ छ, अहिले त्यहीँबाट संचालन हुने पनि स्पष्ट पारे।
अर्थमन्त्रीले व्यापारीलाई पोस्ने गरी निजी बिमा कम्पनीलाई दिन खोजेको भन्दै विरोध भएको थियो। स्वास्थ्य बिमा हाल देशभर लागू भइसकेको छ। यसअन्तर्गत ३० हजार परिवार लाभान्वित भएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।