मिर्गौला प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव एक हप्ताभित्रै लैजाँदैछौं : डा पुकारचन्द्र श्रेष्ठ [अन्तर्वार्ता]

हेल्थपोस्ट नेपाल

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपका विकास गर्ने घोषणा गरेपछि केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ निकै खुसी छन्। नेपालमा मिर्गौला प्रत्यारोपण सेवाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठले सरकारको यो घोषणालाई आफ्नो लामो समयदेखिको सपना पूरा भएको रुपमा लिइरहेका छन्। यसै विषयमा हेल्थपोस्टनेपालका लागि अमृत दाहालले डा श्रेष्ठसँग गरेको कुराकानीः

सरकारले बजेटमार्फत् सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अंग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गरेको छ। केन्द्रको नेतृत्वका रुपमा यसलाई कसरी लिनु भएको छ?
गत वैशाख ११ गते केन्द्र सुरुवात भएको १० वर्ष पूरा भएको छ। यो अवधिमा भएको प्रत्यारोपणको संख्या र गुणस्तरका हिसाबमा यो संसारको स्तरीय प्रत्यारोपण केन्द्रका रुपमा स्थापित भएको छ।अहिलेसम्म हामीले ८६४ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेका छौं भने कलेजो प्रत्यारोपण पनि हामीले नै सुरु गर्‍यौं। अहिलेसम्म ८ जनाको प्रत्यारोपण भइसकेको छ।

यस्तै, मस्तिष्क मृत्युबाट हुने अंगदानबाट पनि ६ जनाको मिर्गौला प्रत्यारोपण र एक जनाको कलेजो प्रत्यारोपण भएको छ। यसका अलावा दैनिक एक सय जनाको डायलिसिस हुँदै आएको छ।

समग्रमा हेर्दा १० वर्षमा संस्थाले प्रत्यारोपणमा ९९ प्रतिशत सफलता हासिल गरेको छ। सरकारले यसलाई मूल्यांकन गरेर बजेटमा समावेश गर्दै प्रतिष्ठान बनाएर उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने घोषणा गरेको छ। यसमा हामी खुसी छौं।

बजेटमा आएअनुसार केन्द्रलाई प्रतिष्ठानका रुपमा अगाडि बढाउन अबको योजना के छ?
यो काम गर्ने चुनौती आएको छ। अब बल हाम्रो कोर्टमा आएको छ। कति गर्ने भन्ने कुरा हाम्रो क्षमतामा भर पर्ने कुरा हो।

बजेट आइसकेपछि स्वास्थ्य मन्त्रालयमा प्रारम्भिक छलफल गरिसकेँ। उहाँहरुले प्रस्ताव ल्याउन भन्नु भएको छ। त्यो दुई वटा विषयमा केन्द्रित हुनेछ। एउटा प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानका रुपमा कसरी अगाडि बढाउने र अर्को सातै प्रदेशमा कसरी बिस्तार गर्न सकिन्छ भन्ने विषय प्रस्तावमा समेटिनेछन्। प्रस्ताव तयार पार्न मैले टोलीलाई भनिसकेको छु। सम्भवतः हामी एक हप्ताभित्रै प्रस्ताव लिएर जान्छौं। मन्त्रालयले आवश्यक ठाने त्यसलाई परिमार्जन गर्न पनि सक्छ।

सबै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवाको कुरा पनि आइरहेको छ। त्यसका लागि जनशक्ति पनि चाहिने हुन्छ। प्रतिष्ठानको रुपमा विकास भइसकेपछि प्रत्यारोपणसम्बन्धी जनशक्ति कसरी उत्पादन गर्ने योजना छ?
सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार अहिलेको होइन, पहिलेदेखिकै सपना हो। हामी सरकारलाई थप व्ययभार दिन चाहँदैनौं। अहिले उपलब्ध जनशक्ति र बिरामीको सेवा नै शैक्षिक कार्यक्रमका लागि पुग्ने खालको छ। खाली चुनौती भनेको स्थान अभावको हो।

अहिले राष्ट्रिय प्रत्यारोपण केन्द्रको एक सय बेडको भवन छ। यसलाई तीन सय बेडको बनाउन पाइयो भने र जग्गा प्राप्ति गरेर क्षमता बढाउन सकियो भने धेरै संख्यामा उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सकिन्छ। जस्तो, नेफ्रोलोजीमा डिएम, युरोलोजीमा एमसीएच, प्रत्यारोपणमा फेलोसीप, एनेस्थेसियामा डिएम गर्न सकिन्छ। बिस्तारै पेट, कलेजो, मुटु, नर्सिङमा पोस्टग्राजुयेटको पढाई गर्न सकिन्छ।

तत्कालका लागि प्रिफ्याब भवन बनाएर सय बेडको डायलिसिस सेवा उपलब्ध गराउने र अहिलेको भवनमा उब्रिएको स्थानमा प्रत्यारोपण संख्या बढाउन सकिन्छ। अहिले बर्सेनि २ सयको संख्यामा प्रत्यारोपण गरिरहेका छौं भने त्यसपछि ५, ६ सयको संख्यामा प्रत्यारोपण गर्न सकिन्छ।

यस्तै, डायलिसिस दैनिक एक सय जनाको गर्ने गरिएको छ भने त्यसपछि दैनिक ४ सयसम्म पुर्‍याउन सकिन्छ। दश वर्षअघि स्थापना हुँदा र अहिले एकै खालको त हुनु भएन नि।

प्रदेशस्तरमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना के छ?
सरकारले बजेटमा सबै प्रादेशिक अस्पतालहरुमा डायलासिस सेवा उपलब्ध गराउन डायलिसिस मेसिन खरिद गर्न बजेट छुट्याएको छ। विपन्न मिर्गौला रोगी नागरिकका लािग निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने पनि भनेको छ।

तर बजेट आउनुअघि नै हामीले गण्डकी प्रदेश अस्पताल पोखरा र कर्णाली प्रदेश अस्पताल सुर्खेतसँग मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सम्झौता गरिसकेका छौं। यसबारेको जानकारी सरकारलाई दिएका पनि थियौं।

अहिले त्यसैको निरन्तरताका लागि सरकारले हामीलाई थप जिम्मेवारी दिएको हो। अब आवश्यक औपचारिकता पूरा भएपछि हाम्रो जनशक्ति गएर प्रत्यारोपण सुरु गर्छ र त्यहाँको जनशक्ति आएर हामीकहाँ तालिम लिन्छ। ‘साइड बाइ साइड’ त्यहाँको जनशक्तिलाई बिस्तारै सक्षम बनाएर हामी हस्तान्तरण गर्नेछौं।

तालिम सर्जन तथा फिजिसियनका लागि एक वर्ष र अरु प्राविधिकका लागि तीन महिना लाग्छ। तालिम सम्पन्न नभएसम्म हाम्रो जनशक्तिले प्रत्यारोपण सुरु गर्छ।

यस्तै, प्रत्यारोपण बिस्तारकै लागि हामीले कोसी अस्पताल, भरतपुर अस्पताल, हेटौंडा अस्पताललगायतका अस्पतालसँग कुरा अगाडि बढाइरहेका छौं। एकै पटक नसकिएला। तर बिस्तारै हामीले प्रदेशस्तरमा पनि सेवा बिस्तार गर्नेछौं।

अहिले हामीसँग केन्द्रमा ८ सर्जन, ८ नेफ्रोलोजिस्ट, ८ एनेस्थेसिस्ट र अरु पुग्ने खालको जनशक्ति छ। यही जनशक्ति आलोपालो गरेर जान्छ। र, अहिलेको सेवामा कुनै कमी नहुने गरी सेवा बिस्तार गर्न हामी तयार छौं।

अहिले मुलुकमा बर्सेनि मिर्गौला फेल हुनेको संख्या कति छ? सेवा तथा क्षमता बिस्तारपछि मुलुकको प्रत्यारोपणको आवश्यकता पूर्ति होला त?
नेपालमा बर्सेनि मिर्गौला हुनेको संख्या ३ हजार छ। केन्द्रले अहिले २ सय जनाको प्रत्यारोपण गर्छ। आवश्यकता र आपूर्तिमा ठूलो खाडल छ। कोही विदेश जान्छन्, बाँकीले देशकै अस्पतालमा सेवा लिन्छन्।

यो हिसाबले हेर्ने हो भने अब १५–२० जनाको प्रत्यारोपण गरेर पुग्नेवाला छैन। अब सय–दुई सय जनाकै प्रत्यारोपण गर्ने हिसाबले जानुपर्छ, ताकि केन्द्र आफैं सक्षम होस्। अनि, कामको रिजल्ट राम्रो हुन्छ र बिरामीले पनि विश्वास गर्छन्। संख्या जति बढ्यो, गुणस्तर पनि बढ्दै जान्छ। निरन्तर हुने गरी स्वाभाविक हिसाबले कार्यक्रम बनाउनुपर्छ। त्यसका लागि केन्द्र अग्रणी भूमिका खेल्न तयार छ।

केन्द्रमा गरिएकाे पहिलाे मिर्गाैला प्रत्याराेपण

तपाईंले लामो समयदेखि नेपालमा विश्वस्तरको प्रत्यारोपण केन्द्र र यहीँ नै उच्च जनशक्ति उत्पादनको सपना देख्दै आउनु भएको थियो। अबचाहिँ यी सपना पूरा भइसके हैन ?
एक चरण राम्रैसँग पूरा भो किनभने विश्वस्तरको प्रत्यारोपण सेवा यही नै भइरहेको छ। ९९ प्रतिशत सफलताका साथ निःशुल्क प्रत्यारोपण हुन्छ। निःशुल्क डायलिसिस यही केन्द्रमा उपलब्ध छ। अब मिर्गौला फेल हुनेहरुले अकाल मृत्युवरण गर्नुपर्दैन। प्रत्यारोपण नगरेसम्म डायलिसिसमा बस्न पाइन्छ। डोनर मिल्यो, क्रसम्याच मिल्यो भने हामी निःशुल्क प्रत्यारोपण गर्छौं। त्यसैले पहिलो खुड्किलो पार गरेजस्तो लाग्छ। अहिलेसम्मका प्रयासले प्रत्यारोपण सेवा यो देशमा विश्वस्तरको हुनसक्छ भन्ने प्रमाणित भएको छ।

अब दोस्रो चरणमा जे चाहना गरेका थियौं। त्यसका लागि राम्रो रिजल्टका साथ निरन्तरता दिन जरुरी छ। ३ हजार जनालाई प्रत्यारोपण आवश्यक भएको अवस्थामा २ सय जनाको प्रत्यारोपण गरेर धेरै फूर्ति गर्ने ठाउँ छैन। दोस्रो चरणमा अन्य प्रत्यारोपण केन्द्र बढाउनुपर्नेछ। त्यसका लागि जनशक्ति उत्पादन गर्नुपर्छ। जुन शैक्षिक प्रतिष्ठानले परिपूर्ति गर्छ। यही आवश्यकतालाई सरकारले बजेटमार्फत् सम्बोधन गरेको छ। कार्यक्रमले मान्यता पाउनेबित्तिकै हामी औपचारिक रुपमा जनशक्ति उत्पादन थाल्छौं। यद्यपि अहिले अनौपचारिक रुपमै जनशक्तिलाई तालिम दिइरहेका छौं।

केन्द्रमा डायलिसिस सेवा लिँदै बिरामीहरु।

मिर्गौला प्रत्यारोपणपछि कतिपयमा औषधि किनेर खाने आर्थिक क्षमता पनि हुँदैन। झन् जीवन निर्वाहको सवाल पनि हुन्छ। यस्तो अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ होला?
प्रत्यारोपणपछि सरकारले औषधिका लागि भनेर एक लाख रुपैयाँ सहयोग गर्छ। यसले एक वर्षलाई पुगनपुग हुन्छ। तर सरकारले कतिसम्म दिनसक्छ र? सरकारको कति क्षमता छ भन्ने कुरा पनि आउछ।

मेरो विचारमा सरकारले गर्ने भनेको नीतिगत व्यवस्था हो। पहिलो कुरा त प्रत्यारोपण गरेपछि उनीहरु स्वस्थ व्यक्तिसरह काम गर्न सक्छन्। म अब बिरामी छैन, स्वस्थ छु भन्ने मनोबल हुनुपर्छ। उनीहरुले आफने सीप,साधन ज्ञान प्रयोग गर्नुपर्‍यो। राज्यले गर्ने भनेको तालिम, क्षमता अभिवृद्धि, कुनै कार्य गर्न सफ्टलोनको व्यवस्था, अनुदानको व्यवस्था हो। यसका साथै उनीहरुलाई सपोर्ट गर्न परिवारको पनि भूमिका हुन्छ।

 



Leave a Reply

Your email address will not be published.