किन हुन्छ हृदयघात? के हुन् यसका सुरुवाती संकेत?

हेल्थपोस्ट नेपाल

काठमाडाैं-चर्चित भारतीय गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार हृदयघातका कारण निधन भयो। कोलकाताको एउटा कन्सर्टमा प्रस्तुति दिइरहेका बेला उनले अस्वस्थ महसुस गरे। जसोतसो प्रस्तुति सके र होटल पुगे। होटलको कोठामा पुगेपछि उनलाई बेचैनी महसुस भयो र लडे।

चिकित्सकहरुका अनुसार उनलाई हृदयघात भएको थियाे।

खासमा बेचैनी हृदयघातको आमलक्षण हो, जसलाई गायक केकेले बेवास्ता गरेको पाइयो। यो खालको गल्ती अधिकांश मानिसहरु गर्छन्। यस्तोमा हृदयघातको सुरुवाती संकेत थाहा पायो भने ज्यान जानबाट बँच्न सकिन्छ।

कसरी चिन्ने हृदयघातका लक्षण?
हृदयघात एक मेडिकल इमर्जेन्सी स्थिति हो। कुनै अवरोधका कारण मुटुको कुनै भागमा रगत जान नसक्दा उक्त भागको मांसपेशीमा क्षति हुन सुरु हुन्छ। यसबाट हृदयघातको स्थिति उत्पन्न हुन्छ।

हृदयाघातको मुख्य कारण कोरोनरी आर्टरी डिजिज अर्थात् सीएडी मानिन्छ। मुटुको धमनी अर्थात् हर्ट आर्टरी अचानक खुम्चिनु पनि हृदयघातको कारण बन्छ। यस्तो हुँदा मुटुका मांसपेशीमा रगत आपूर्ति रोकिन्छ।

गायक केके ५३ वर्षका थिए। यो उमेरमा हृदयघात हुने घटना बढिरहेका छन्। अझ युवाहरुमा पनि हृदयघात हुने गरेको पाइन्छ।

कम उमेरमै हृदयघात हुनुको कारण खराब जीवनशैली, तनाव र खराब खानपान हो। यसबाट कोरोनरी धमनीमा बोसो, कोलेस्टेरोल र अन्य पदार्थ निर्माण हुन थाल्छ र मुटुमा रगतआपूर्तिमा अवरोधको कारक बन्न्छ।

धूमपान गर्ने, उच्च रक्तचाप तथा मोटोपनाका बिरामीहरुमा पनि हृदयघात हुने सम्भावना हुन्छ। परिवारमा ‘फस्र्ट डिग्री रिलेटिभ्स’ अर्थात् बाबु,आमा, दाजुभाइ या दिदीबहिनीमध्ये कसैलाई हृदयघात या अन्य मुटुका रोग छन् भने आफूले पनि ध्यान दिनुपर्छ। रुटीन चेकअप गराउनुपर्छ। यस्ता मानिसलाई हृदयघात हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन्।

के हुन् हृदयघातको सुरुवाती संकेत?
छातीमा पीडा या बेचैनी। अधिकांश हृदयघातका बेला छातीका केन्द्र या बायातिर असजिलो हुन्छ, र यो केही मिनेटसम्म रहन्छ। यस्तो अवस्था केहीसमय रहने, हराउने या पुनः हुने हुन्छ।

बेचैनी र असहज दबाब महसुस गर्नु

हल्का दुखाइ महसुस हुनु

कमजोरी, हल्का बेहोसीजस्तो महसुस गर्नु

शारीरिक श्रमविना नै बारम्बार पसिना आउनु

गर्धन या पीठमा दुखाइ हुने

कुनै अवस्थामा दुखाइ पेटको माथिल्लो भागमा पनि हुनसक्छ

थकान, अपच, या वाक–वाक महसुस हुने

एउटा या दुवै काँध दुख्ने

श्वास लिन कठिनाई महसुस हुनसक्छ। ध्यान दिनुपर्ने कुरा के भने यस्तो अवस्था छातीमा असजिलो हुनेहुन्छ।



Leave a Reply

Your email address will not be published.