कन्सर्टमै बिरामी परेका चर्चित भारतीय गायक केकेकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – आफ्नो वेबसाइट ‘द मसमेराइजर’ मा केकेले लेखेका छन्, ‘जब कलाकार स्टेजमा हुन्छ, उसले एक किसिमको ऊर्जा महसुस गर्छ। ऊ जस्तोसुकै अवस्थामा किन नहोस्। जब म स्टेजमा हुन्छु, म सबै कुरा बिर्सन्छु र प्रस्तुतिमात्र दिन्छु।’

मंगलबार यही भयो, जब उनी कोलकाताको एक अडिटोरियममा प्रस्तुति दिइरहेका थिए। कन्सर्टकै क्रममा उनी बिरामी परेका थिए। प्रस्तुति दिँदै गर्दा बीचमा उनले आफू अस्वस्थ भएको बताएका थिए तर पनि कार्यक्रम पूरा गरे। त्यसपछि उनी होटल गए, उनको स्वास्थ्य बिग्रँदै गइरहेको थियो र उनी बेहोस भए। उनलाई स्थानीय सीएमआरआई अस्पताल लगियाे, तर डाक्टरहरूले उनको पहिले नै मृत्यु भइसकेको पुष्टि गरे।

सन् १९९९ मा आफ्नो एल्बम ‘पल’ बाट गायनको दुनियाँमा डेब्यु गरेका केकेले हिन्दी सिनेमामा पनि पार्श्व गायनको दुनियाँमा आफ्नो नाम कमाए। तर उनलाई स्टेजमा बस्न र गाउन निकै मन पर्थ्यो। उनले हिन्दीबाहेक तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी र बंगालीमा पनि गीत गाएका छन्।

उनको बिदाइले संगीतजगत मात्रै नभई संसारभरका कैयौंलाई दुःखी बनाएको छ। उनलाई श्रद्धाञ्जली अर्पण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘केके भनेर चिनिने चर्चित गायक कृष्णकुमार कुन्नथको असामयिक निधनले गहिरो दुःख लागेको छ। उनका गीतहरूले विभिन्न भावनाहरूलाई शब्दहरू दिएका छन् र सबै उमेरका मानिसहरूको मन छोएका छन्। उनका गीतहरूबाट उनलाई हामी सधैं सम्झिरहनेछौं। उनको परिवार र फ्यानहरूलाई समवेदना।’

केकेको निधनमा बलिउड जगतका धेरै कलाकार तथा गायकहरूले पनि शोक व्यक्त गरेका छन्। अभिनेता अक्षय कुमारले लेखेका छन्, ‘केकेको यसरी भएको मृत्युले स्तब्ध भएको छ। यो निकै ठूलो क्षति हो।’

अर्का चर्चित गायक पापोन अंगरागले भने, ‘जिन्दगी कति अनिश्चित छ। मेरा लागि त यो कुरा बुझ्न निकै गाह्रो छ। भगवानले उनको परिवारलाई शक्ति प्रदान गरुन्। केके भाइ तिम्रो धेरै याद आउनेछ। तिम्रो र तिम्रो त्यो आवाज र गीतहरू सधैं हाम्रो साथमा रहनेछन्।’

केकेको जन्म २३ अगस्ट १९६८ मा दिल्लीमा मलायाली परिवारमा भएको हो। उनले दिल्लीको किरोडी मल कलेजमा अध्ययन गरे। विज्ञापनमा आवाज दिएर उनले संगीतको दुनियामा आफ्नो करिअर सुरु गरेका थिए। चार वर्षमा उनले ११ भाषामा ३ हजार ५०० भन्दा बढी जिंगल गाए।

फिल्महरूमा उनको डेब्यू एआर रहमानसँग भएको थियो तर उनले आफ्नो एल्बम ‘पल’ बाट प्रसिद्धि कमाए। जसमा उनले गाएको ‘हम रहे या ना रहे कल…’ उनको समयको सबैभन्दा लोकप्रिय गीत बन्यो र यही गीत स्टेजमा अन्तिम पनि।

केकेले संगीतमा कुनै औपचारिक शिक्षा लिएनन् र आफ्नो अभ्यासबाट मात्रै उचाइ छोए। सन् १९९४ मा मुम्बई जानुअघि उनले ६ महिना मार्केटिङ कार्यकारीको रूपमा पनि काम गरेका थिए। उनले हम दिल दे चुके सनम, देवदास, वो लम्हे, ओम शान्ति ओम, बचना ए हसीनो, आशिकी २ र बजरंगी भाइजान जस्ता चर्चित चलचित्रका गीत गाएका छन्। उनले फिल्मफेयर अवार्डका लागि ६ पटक मनोनयनमा परे तर अवार्ड भने पाएनन्।

सन् १९९९ मा उनले ‘पल’ एल्बमका लागि गीत गाए। स्वरका मालिक उनले यसअघि हजारौं जिङ्गल गाइसकेका थिए तर उनले ‘याद आएंगे ये पल’ गीतबाट मानिसको मनमा स्थान बनाएका थिए। र उनले आफ्नो जादुमय स्वरलाई फरक स्तरमा पुर्याए जब उनले बिरहलाई आफ्नो गायनमा ढाले र गाए – ‘तडप तडप के इस दिल से आह निकलति रही…’

र, यसरी केके फिल्म संगीतको दुनियाँमा आए र प्रभुत्व जमाए। कहिले शाहरुखको रोमान्टिसिज्म (आँखों में तेरी अजब सी गज़ब सी अदाएँ हैं), कहिले मायामा रणवीरको मायाको गीत (सजदे में यूँ ही झुकता हूँ , तुम पे आके रुकता हूँ) त कहिले मायाको उदासीनतालाई स्वर दिएको (दस बहाने करके ले गई दिल) र कहिलेकाहीँ हृदयको पीडा बनेर (तड़प तड़प के…)

५३ वर्षीय केके भित्र एक गायकीमात्र होइन, अरू धेरै थिए – संगीतकार, खानाप्रेमी, प्रकृति प्रेमी, रोडी, वान्डरर…।



Leave a Reply

Your email address will not be published.