स्वास्थ्य बिमालाई कम्पनीमार्फत् सञ्चालन गर्ने घोषणा पश्चगामी कदम : बोर्ड

काठमाडौं–स्वास्थ्य बिमालाई बिमा कम्पनीमार्फत् सञ्चालन गर्ने भनेर बजेटमा गरिएको व्यवस्थाप्रति स्वास्थ्य बिमा बोर्डले आपत्ति जनाएको छ।
बोर्ड अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले यो कदम स्वास्थ्य क्षेत्रका लागि पश्चगामी कदम भएको टिप्पणी गरे। ‘स्वास्थ्य बिमालाई बिमा कम्पनीमार्फत् सञ्चालन गर्नु भनेको यो क्षेत्रका लागि पश्चगामी कदम हो, यसको मर्म बुझेर, नबुझेर या कसैको दबाबमा यस्तो हुन्छ भनेर कल्पना पनि गर्न कठिन कुरा हो,’ उनले हेल्थपोस्टनेपाललाई प्रतिक्रिया दिँदै भने।
उनका अनुसार स्वास्थ्य बिमामा मुलुकभरका ३० प्रतिशत परिवार आबद्ध भइसकेको र ७७ वटै जिल्लामा बिस्तार भइसकेको बताए। तर तत्काल रकम भुक्तानी हुन नसक्नु यसको कमजोरी रहेको उनको भनाई छ।
‘समयमै भुक्तानी गर्ने कुरामा समस्या देखिएको छ, तर हामीले तात्कालीन रुपमा पैसा दिनेभन्दा बिल भेरिफाई गर्ने हो, सफ्टवेयरलाई समयानुकूल नबनाउँदा ढिलाइ भएको पक्कै हो,’ उनले भने।