स्वास्थ्यमा ६९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन, यी हुन् बजेटमा परेका प्रमुख कार्यक्रम [पूर्णपाठ]

हेल्थपोस्ट नेपाल

काठमाडौं–आगामी आर्थिक वर्षका लागि सरकारले संघीय स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन्। मन्त्री शर्माका अनुसार प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि ६ अर्ब २६ करोड र स्थानीय तहका लागि २७ अर्ब ४४ कराेड छुट्याइएको छ।

उनका अनुसार ६५५ स्थानीय तहमा अस्पताल निर्माण गर्न १० अर्ब विनियोजन गरिएको छ। देशभरका पूराना र जीर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थाका भवन निर्माणका लागि रकम छुट्याइएको छ।

यस्तै, सरकारले ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत सेवा प्रदान गर्न प्रमुख अस्पतालहरुमा ज्येष्ठ नागरिक वार्ड निर्माण गरिनेछ भने सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क रुपमा उपलब्ध गराइनेछ।

मातृमृत्युदर घटाउन पोषण कार्यक्रम, सुरक्षित सुत्करी तथा मातृत्व र खोप कार्यक्रमलाई प्रभावकारी बनाइने छ भने आमा सुरक्षा कार्यक्रमको रकममा वृद्धि गरिएको छ। विकास सूचकांकमा पछि परेका २५ जिल्लामा पोषण खर्चका लागि ५ हजार रुपैयाँ व्यवस्था गरिएको छ।

स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी र सप्तरीमा सुपरस्पेसियालिटीसहितको अस्पताल निर्माण अघि बढाइनेछ भने शिक्षक अस्पताल निर्माण पनि गरिनेछ। यस्तै, सिकलसेल एनिममिया उपचार तथा अध्ययन केन्द्र स्थापना गरिनेछ।

पाठेघरको मुखको क्यान्सर उपचार कार्यक्रम सन्चालन गरिनेछ भने अतिविपन्न नागरिकका लागि मिर्गौला प्रत्यारोपण निःशुल्क हुनेछ। यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

शैक्षिक सत्र सुरुहुनुअघि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गरिनेछ। पूर्ण अपांगता भएका व्यक्तिका लागि स्वास्थ्य सेवासहितको पुनःस्थापा केन्द्र स्थापना गरिनेछ।

नेशनल सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ भने प्रमुख अस्पतालमा विद्युतीय सूचना प्रणाली स्थापना गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन ७ अर्ब ५० करोड विनियोजन गरिएको छ। सामुदायिक स्वास्थ्य शिक्षा, नागरिक आरोग्य अभियान, ४० वर्षमाथिका नागरिकका लागि वर्षमा एक पटक नसर्ने रोगको निःशुल्क परीक्षण सेवा सन्चालन गरिनेछ ।



Leave a Reply

Your email address will not be published.