नेपालमा बर्सेनि साढे ७ लाख थपिन्छन् परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या बर्सेनि साढे ७ लाख थपिने गरेको पाइएको छ।

सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार परिवार नियोजनका अस्थायी साधनका नयाँ प्रयोगकर्ता आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ३८ हजार ८४९ जना थिए।

चालु आवको फागुनसम्म भने नयाँ प्रयोगकर्ताको संख्या ५ लाख १४ हजार ६३ रहेको छ।

सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म २३ हजार २७५ क्षयरोगका बिरामीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। गत आवमा यस्तो संख्या २८ हजार १८६ थियो।

नेपालमा औलों रोग क्रमशः नियन्त्रण हुँदै गइरहेको जनाइएको छ। चालु आवको फागुनसम्म कूल नमुना परीक्षण संख्या १ लाख ८ हजार ३८८ रहेकोमा ३५६ जनामा औंलोका बिरामी देखिएका छन्। अघिल्लो वर्षको तुलनामा औंलोका बिरामी घटेको देखिएको छ।

चालु आवको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभीको रोकथाम कार्यक्रममा आबद्ध ४२ गर्भवती महिलासहित १९ हजार ५६५ एचआइभी संक्रमितलाई एआरभी औषधि वितरण गरिएको छ। गत वर्ष योसंख्या १३७ गर्भवतीसहित १८ हजार ८९२ थियो।

यस्तै, सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत आवमा ७४० बिरामीको मिर्गौला प्रत्यारोपण र ६ बिरामीको कलेजो प्रत्यारोपण गरिएको थियो। चालु आवको फागुनसम्म ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ।



Leave a Reply

Your email address will not be published.