आरजुले भनिन्–गेटाको आन्दोलन बेकार हो, भ्रम सिर्जना गर्ने काम नगरौं

काठमाडौं–कांग्रेस नेतृ डा आरजु राणा देउवाले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि भनेर अहिले भइरहेको आन्दोलन बेकारको भन्दै टिप्पणी गरेकी छन्।
आज सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्दै राणाले बेकारको आन्दोलन नगर्न र भ्रम सिर्जना गर्ने कार्य नगर्न आग्रह गरेकी हुन्।
गेटामा मेडिकल कलेजसम्बन्धी विभिन्न टीकाटिप्पणी भइरहेको र आन्दोलन भइरहेको सुन्दा आफूलाई अचम्म लागिरहेको भन्दै उनले गत चैत ४ गते नै त्यहाँ ३ सय शय्याको अस्पताल खोल्ने निर्णय बाहिर आइसकेको बताएकी छन्।
सरकारको नियमअनुसार तीन वर्ष अस्पताल चलाइसकेपछि मात्र कुनै पनि ठाउँलाई मेडिकल कलेज बनाउन सकिने भएकाले गेटामा चाँडै अस्पताल सञ्चालन हुन गइरहेको उल्लेख गर्दै उनले चुनावका कारणमात्र त्यमसा ढिलाइ भएको बताइन्।
‘अब एक–दुई सातामै समिति बन्छ र सञ्चालन हुने प्रक्रियाका लागि आगामी आर्थिक वर्षकै लागि बजेट आउछ, बेकारको आन्दोलन गर्ने र भ्रम सिर्जना गर्ने कार्य नगर्न आग्रह गर्छु,’ उनले एक भिडियो सन्देशमा भनेकी छन्।
भौतिक संरचना निर्माणको काम ९० प्रतिशत सकिइसकेको गेटा मेडिकल कलेजलाई बेवास्ता गर्दै सरकारले नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेको भन्दै कैलालीमा नागरिक दबाब समूहले आन्दोलन सुरु गरेको छ। सोहीप्रति लक्षित गर्दै राणाले उक्त टिप्पणी गरेकी हुन्।