३२ वटै वडामा क्लिनिकको व्यवस्था गर्छु, सरकारी अस्पतालको सुविधा बढाउँछु : बालेन शाह

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले महानगरका ३२ वटै वडामा क्लिनिकको व्यवस्था गर्ने बताएका छन्।

वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशालाको व्यवस्था गर्ने र मुटु, मिर्गौला तथा कलेजो, रगत, रक्तचाप तथा मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्ने उनको भनाइ छ। ‘यस्तो परीक्षण कम्तीमा ६ महिनामा एक पटक निःशुल्क गर्ने व्यवस्था मिलाउँछौं, यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ,’ उनले भने।

यस्तै पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना रहेको पनि उनले बताए। ‘क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्छ,’ शाहको भनाइ छ।

स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यान निर्माण गर्ने योजना रहेको पनि उनले बताए।

यससँगै उनले सरकारी अस्पतालमा सुविधा बढाउने योजना पनि अगाडि सारेका छन्। ‘विशेषज्ञ चिकित्सक यहाँ काम नपाएर विदेशिने अवस्था छ। त्यसलाई रोक्न के–कस्ता सुविधा दिने भन्ने बारेमा छलफल गर्नुपर्छ,’ उनले भने, ‘टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएर उनीहरुलाई अतिरिक्त आम्दानीको वातावरण बनाउन सकिन्छ।’

सम्पत्ति कर र घरबहाल कर तिर्दा त्यसको केही अंश स्वास्थ्य बिमाको ‘प्रिमियम’का रुपमा लिने र त्यसबाट स्वास्थ्य सुविधा दिन सकिने उनले बताए। ‘त्यसो गर्दा नागरिकलाई कर तिरौँतिरौँ पनि लाग्ने र स्वास्थ्य सुविधा पनि लिने वातावरण बनाउछौँ। यसले महानगरवासीलाई कर तिर्न अभिप्रेरित गर्नेछ,’ मेयर शाहले भने।



Leave a Reply

Your email address will not be published.