स्वास्थ्य सेवा विभागको अल्ट्रासाउण्ड खरिद प्रक्रियाविरुद्ध उजुरी, छानिएको कम्पनीको स्पेसिफिकेसन नपुग्ने दाबी

हेल्थपोस्ट नेपाल

काठमाडौं–१७८ वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिन खरिदका लागि स्वास्थ्य सेवा विभागले छनोट गरेको कम्पनीको स्पेसिफिकेसन नपुग्ने भन्दै उजुरी परेको छ। ३० करोड रुपैयाँ बराबरका अल्ट्रासाउण्ड मेसिन खरिदका लागि भएको टेण्डर प्रक्रियामा विभागले लुम्बिनी हेल्थकेयर प्रालिलाई छनोट गरेको थियो।

तर स्पेसिफिकेसनमा उक्त कम्पनी कमजोर भएको भन्दै कृष्णा इन्टरनेशनल र म्याक्स मेडिटेक गरी दुई कम्पनीले उजुरी गरेको स्रोतले जनाएको छ।

विभागको व्यवस्थापन शाखाले गत चैत ७ गते ३० करोड (२१ लाख ९५ हजार ५९५ अमेरिकी डलर) बराबरका १७८ पोर्टेबल अल्ट्रासाउण्ड (युएसजी) मेसिन जडान गर्न भन्दै टेण्डर आव्हान गरेको थियो। प्रदेशमा पठाइने भनिएका ती मेसिनको स्पेसिफिकेसन चिनियाँ कम्पनी केन्द्रित भएर बनाइएका थिए।

यही जेठ १२ र १३ गते उजुरी परेका हुन्। उजुरी परेको ५ दिनभित्र निर्णय पुनरवलोकन गर्नुपर्ने प्रावधान छ। तर विभागले त्यसो गर्ने सम्भावना नरहेको स्रोतको भनाइ छ।

टेण्डर आव्हान गर्दा उत्पादक कम्पनीले ३ वर्षदेखि त्यस्तो खालको सामान उत्पादन गर्दैै आएको हुनुपर्ने, उक्त सामान २ वर्षदेखि कुनै पनि मुलुकमा प्रयोगमा आइरहेको हुनुपर्ने र पछिल्लो प्रविधियुक्त हुनुपर्ने तोकिएको थियो।

स्थानीय तह चुनावको मुखैमा संघीय स्वास्थ्य मन्त्रालय र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्पेसिफिकेसनमा ‘सेटिङ’ गर्दै लाखौं डलर पर्ने स्वास्थ्य उपकरण खरिद गर्ने प्रतिस्पर्धाजस्तै गरेका थिए। अधिकांश एउटै कम्पनीलाई लक्षित गर्दै स्पेसिफिकेसन गरिएका थिए भने सोहीअनुसार नै कम्पनी छनोट गरिएका छन्।

संघीय स्वास्थ्य मन्त्रालयमातहत रहेको नारायणी अस्पतालका लागि भन्दै करिब ३१ करोड रुपैयाँका थ्रि टेस्ला एमआरआई मेसिन खरिदका लागि गत चैत २५ गते टेण्डर आव्हान भएको थियो।

नारायणी अस्पतालमा सीटी स्क्यान मेसिन ४ वर्ष प्रयोगपछि मर्मन नगरी बिग्रिएर फालेको अवस्थामा गत वर्षमात्र ५ करोडको सीटी स्क्यान मेसिन खरिद गरिएको थियो। सोही अवस्थामा ३१ करोडको एमआरआई मेसिन किन्न खरिद प्रक्रिया अघि बढाइएको थियो।

१.५ टेस्लाको १५ करोडको मेसिनले काम गर्ने ठाउँमा त्योभन्दा बढी टेस्ला र रकमको मेसिन खरिद गर्न प्रक्रिया अघि बढाइएको थियो। स्रोतका अनुसार युनाइटेड इमेजिङ चाइनाको करिब २२ करोड पर्ने मेसिन ३१ करोडमा लिने गरी ‘सेटिङ’ गरिएको थियो।

‘प्रि–बिड मिटिङमा टेण्डरकर्ताहरुले स्पेसिफिकेसन परिवर्तन गर्नेबारेमा कुरा पनि उठाए, तर सम्बन्धित निकायले यसबारे कुरै सुनेन,’ स्रोत भन्छन्, ‘अब पुरानै स्पेसिफिकेसनअनुसार खरिद प्रक्रिया अगाडि बढाइनेछ।’

उक्त टेण्डरको स्पेसिफिकेसनमा एमआरआई मेसिनको बोर साइज (गोलाई, भित्रि डायामिटर) ७५ सेमि तोकिएको छ। जबकि थ्रि टेस्लामा उक्त बोर साइजको एमआरआई मेसिन चिनियाँ कम्पनीसँगमात्र थियो। यसले पनि उक्त टेण्डर प्रक्रियामा ‘सेटिङ’ भएको बुझ्न सकिने स्रोतको भनाइ छ।

स्वास्थ्य सामग्री खरिदबारेका अरु श्रृंखला



Leave a Reply

Your email address will not be published.