पूर्वस्वास्थ्यमन्त्री अधिकारीले संसदमा भने–स्वास्थ्य बिमालाई विकृत रुपमा पेश गरियो

हेल्थपोस्ट नेपाल

काठमाडौं–पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमालाई विकृत रुपमा पेश गर्ने गरिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बिहीबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै अधिकारीले आफ्नो कार्यकालमा स्वास्थ्य बिमा सुरु गरे पनि अर्थ मन्त्रालयले नै रोकेको उल्लेख गर्दै त्यससम्बन्धी ऐन ल्याएर आफू बाहिरिएको बताए।

उनले स्वास्थ्य बिमा कार्यक्रममार्फत् विशिष्टिकृत सेवा सबैले पाउने गरी ३९६ अस्पताल स्थानीय तहमा सुरु गरिएको र २३०७ उपस्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य चौकी बनाउँदा १२ हजार दरबन्दी सिर्जना गरिएकोमा त्यसयता एक जना पनि दरबन्दी नथपिएको बताए।

अधिकारीले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिन पेइङ शुल्कसहितको व्यवस्था गरिएको उल्लेख गर्दैै भने, ‘आज त्यो कहाँ हरायो, विगत सरकारले ल्याएको विशिष्टिकृत सेवा दिने कार्यबाट सरकार पछाडि हट्दै गएको छ।’

उनले स्वास्थ्य जनताको मौलिक अधिकार भएको भन्दै अबको ६ वर्षमा मेडिकल शिक्षा पूरै निःशुल्क गर्नुपर्ने र जेनेरिक नाममा औषधि उत्पादन गर्ने विषयमा समेत आफूले संशोधन गरेको बताए।



Leave a Reply

Your email address will not be published.