‘मंकीपक्स’ संक्रमणबाट सचेत रहन एनआरएनएको आग्रह

हेल्थपोस्ट नेपाल

लन्डन – गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकीपक्स भाइरल संक्रमणबाट बँच्न सुझाव दिएको छ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मंकीपक्सका संक्रमित भेटिएका छन्। पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केस भेटिएका छन्। पोर्चुगल, स्वीडेन, नेदरल्यान्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमित फेला परेका छन्।

सापकोटाले मंकीपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए। ज्वरो देखा परेको एकदेखि तीन दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ। रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागमा फैलिँदै जान्छ। त्यसपछि रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन्।

मंकीपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७-१४ दिन हुन्छ। मंकिपक्सकाे अहिलेसम्म कुनै विशेष उपचार छैन। तर यसका धेरै केस हल्का र आत्मसीमित हुन्छन्। यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ।

तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकालाई मंकीपक्सले गम्भीर जटिलता निम्त्याउन सक्ने र मृत्युसमेत हुने चिकित्सकहरूले बताएका छन्।

अन्य भाइरल रोगका लागि काम गर्ने एन्टिभाइरल औषधि पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलोपटक देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये एकजनामा मृत्यु भएको पाइएको छ।



Leave a Reply

Your email address will not be published.